असोजलाई सरौतो

0
Shares

बदलामा कथामा निर्माणाधीन एक्सन जनराको फिल्म सरौतोको आगामी असोज ३ गतेका लागि रिलिज डेट तोकिएको छ। फिल्म सिनेम्याटोग्राफर हरि हुमागाईंको डेब्यु निर्देशनमा निर्माण भइरहेको छ।
हरिले केही विज्ञापन फिल्म र म्युजिक भिडियो निर्देशन गरेपछि ठूलो पर्दाको फिल्म निर्देशन गरेका हुन्। विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एन्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माणाधीन फिल्मका कार्यकारी निर्माता सिर्जना जोशी र लक्ष्मीकुमारी तामाङ हुन्।

सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पिजेबी राणा, सम्पदा दाहाल, सुवाङम शाह, लियो ट्यांक, मैषा पुनमगर, प्रतीक दुलाल, मनोज तामाङलगायतले अभिनय गरेको फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोसिस क्षेत्रीको संगीत, राजनराज, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङ र केतन क्षेत्रीको स्वर, राघव कृष्ण गौतमको लेखन, निलिशा शाक्यको नृत्य निर्देशन, शंकर महर्जनको एक्सन, उत्तम हुमागाईंको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

‘मेरो अनुभवलाई टिमको साथले निर्देशनमा परिणत गरेको छु। एउटा राम्रो कमर्सियल फिल्म बनाउने प्रयास गरेको छु। फिल्म बदलाको कथामा छ भने यसमा दर्शकले सुमीलाई एक्सन अवतारमा देख्न पाउनुहुनेछ’ –निर्देशक हुमागाईंले भने। सुमीले फिल्ममा आफूलाई एक्सन अवतारमा देखिने बताइन्। ‘मलाई प्रायः दर्शकले ग्ल्यामर अवतारमै देख्दै आउनुभएको छ। यसमा भने मलाई एक्सन अवतारमा पाउनुहुनेछ’ –सुमीको भनाइ छ।