आज विभिन्न कार्यक्रम गरी २५६३ औं बुद्ध जयन्ती मनाइँदै

0
Shares

काठमाडौं । वैशाख पूर्णिमा अर्थात् २५६३ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ । काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबु लगायत स्थानमा यो दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

बुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् ।

संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन् ।