मोहन दुवाल
वि.सं. २००३ जेठ २ गते गहेलीटोल, विराटनगरमा जन्मेकी भुवन कोइराला नै पछि मानवअधिकारकर्मी दमननाथ ढुङ्गानासँग विवाह भएपछि भुवन ढुङ्गानाका रुपमा आफूलाई पछिल्लोपल्ट चिनाउँदै आएकी साहित्यकार हुन् । भुवन कोइरालाको नामले साहित्यिक क्षेत्रमा प्रवेश गरेकी उनी २०२६ सालमा मधुपर्क साहित्यिक मासिकमा कविता प्रकाशन गरेर यस क्षेत्रमा देखा परेकी हुन् ।
२०२६ सालदेखि नै साहित्यिक जगत्मा उत्कृष्ट साहित्यिक सङ्कलन ‘सिउँदो’ प्रकाशन गरेर देखा परेकी यिनी सफल साहित्यिक पत्रकार पनि हुन् । उक्त साहित्यिक पत्रिकाको गाताका चित्रहरु पत्रिकाको नामअनुसार रेखाङ्कन गरी आफूलाई कलाकारको रुपमा पनि चिनाउन यिनी सफल भएको देखिन्छ । सिउँदोका ५ वटा अङ्क मात्र प्रकाशन भएको देखिए तापनि थोरै समयमा नै उक्त साहित्यिक पत्रिकाले नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा आफ्नो छवि देखाउन सफल भएको देखिन्छ । यिनले साहित्यिक पत्रिकाको सम्पादन गर्नुका साथै साप्ताहिक पत्रपत्रिकाहरुमा पनि आफ्नो दृष्टिकोण आफ्नै रचनाहरुमार्फत आफूलाई चिनाएको देखिन्छ ।
‘जनमञ्च’ साप्ताहिक पत्रिकामा ‘हक÷बेहक’ स्तम्भमा आफ्ना सोचहरु साहित्यिक भाषामा संवेदनशील ढङ्गले राख्न सफल कवि भुवन ढुङ्गाना गद्य लेखनमा पनि सक्रिय रहेको देखिन्छ । उनी कथा, कविताका साथै लेख, निबन्ध, संस्मरणहरु लेखेर आफ्नो कलमको पहिचान देखाउन सफल लेखिका भइसकेको तथ्य बताइरहनु नपर्ला । २०२६ सालदेखि हालसम्म पनि निरन्तर लेखिरहेकी भुवन ढुङ्गानाले १२ जना लेखिकाहरुसँग सहमति गरी नयाँ किसिमको साहित्यिक सक्रियता, जागरण ल्याउन र स्तरीयता विकास गर्न गुञ्जन समूहको स्थापना गरी आफ्नो सक्रियता देखाइदिएकी हुन् ।
उक्त समूहमार्फत नै चर्चित साहित्यकारहरुसँग भेटघाट गर्ने, उनीहरुको कृतिबारे छलफल चलाउने, सबैले कृतिको अध्ययन गर्ने र विचार पेस गर्ने तथा महिनाको एकपटक भेटघाट चलाउने अभियान चलाएकी हुन् । उक्त अभियानमा डा. ध्रुवचन्द्र गौतमसँग ‘अग्निदत्त+अग्निदत्त’ बारे, ईश्वरबल्लभसँग कविताबारे, सरुभक्तसँग ‘तरुनी खेती’ बारे, केदारमान व्यथितको अभिनन्दन, दयाराम श्रेष्ठसँग नेपाली कथाको प्रवृत्ति सम्बन्धमा चर्चा चलाइसकेको देखिन्छ । शुरुवात राम्रो हो, कार्यान्वयन पक्षमा निकै सतर्कता अपनाई निष्पक्ष ढङ्गले विवेचना गरेर सबैको मूल्याङ्कनको आधारमा नेपाली साहित्यिक जगत्मा नयाँ आयाम थप्ने कार्यको प्रशंसा जति गरे पनि नपुग्दो छ । यस्तै काम साहित्यिक जगत्मा यिनले गरेको देखिन्छ ।
यिनले प्राध्यापन सेवा पु¥याउनुका साथै पेन इन्टरनेसनलकी सदस्य, महिला उपभोक्ता सहकारी संस्थाकी अध्यक्ष भई सेवा पु¥याउँदै साहित्यिक क्षेत्रमा केही न केही गरिरहने सोचले सिर्जनामा चाख मान्दै लेख्दै आएको देखिन्छ । साहित्य सेवा र सिर्जनामा बढी समय खर्चिन तयार हुने भुवन ढुङ्गानाले उनको साहित्यिक क्षेत्रमा प्रवेशसम्बन्धमा यसरी विचार व्यक्त गरेको देखिन्छ– साहित्यको माध्यमबाट नै दमननाथ ढुङ्गानासँग मेरो परिचय भयो । बासु शशीसँग परिचय पनि उहाँले नै गराइदिनुभयो । पछि ठूलो बुबाका छोरा धरणीधर कोइरालाबाट पनि प्रेरणा प्राप्त भयो । बीपी कोइराला र पारिजातको साहित्यबाट प्रभावित हुँदै गएँ अनि साहित्यमा आफू पनि समाहित हुन लालायित भएँ ।
अंग्रेजी साहित्यमा एमए., कानुनमा बीएल र कलकत्ता शान्ति निकेतनबाट सन् १९६४–०६८ मा नृत्यमा डिप्लोमा गरेकी यिनले साहित्य सिर्जनाले आनन्द प्राप्ति हुने र मनोभावना अभिव्यक्त गर्न उत्कृष्ट माध्यम हुने विचार पोख्नुका साथै साहित्यबारे आफ्नो विचार यसरी पोखेको पाइन्छ– ‘साहित्य सिर्जना र साहित्यिक क्रियाशीलतामा पूर्वाग्रही सोच राख्नुहुँदैन, सिर्जनशीलतामा लाग्नेहरुका बीच मेल हुनुपर्छ । सैद्धान्तिक राजनीति सोचको आधारमा संकुचित भई साहित्यिक क्षेत्रलाई विभाजित गर्नु नहुने, साहित्य सबै पक्ष र सबै वर्गको लेख्न सकिने र आवश्यकतानुसार साहित्य सिर्जना हुन सक्छ ।’ बंगाली भाषाको राम्रो दख्खल भएकी उनले पढ्नमा सबैथोक पढ्ने तथा सबैसँग मित्रवत् व्यवहार र सम्बन्ध कायम राख्न रुचाउने आफ्नो रुचि रहेको बताइन् । उनीद्वारा लिखित कथाहरु जापानी, उर्दू, हिन्दी भाषामा पनि प्रकाशित छन् । कविको अर्को व्यक्तित्वको महत्वपूर्ण पक्ष भनेको शास्त्रीय नृत्य र चित्रकारिता पनि हो । शास्त्रीय नृत्य र चित्रकारितासँग सम्बन्धित विभिन्न संघसंस्थाबाट हुने गोष्ठी, अन्तरक्रियामा भाग लिई उनले आफ्नो सक्रियता देखाएकै हुन् ।
भुवन ढुङ्गानाको रचनामा आफ्नै पहिचान, विशेषता, आफ्नै ढङ्गको ऊर्जाशक्ति विद्यमान भएको देखिन्छ । कथामा आफ्नै किसिमको पहिचान, आत्मसंस्मरण र रिपोर्टाजमा आफ्नै किसिमको परिचय र कवितामा आफ्नै ढङ्गको कल्पनाशीलताको प्रयोग राम्रो ढङ्गले अभिव्यक्त भएको पाइन्छ । लेखिका भुवन ढुङ्गाना आफ्ना सही दृष्टिकोण र भावनाहरु यसरी पात्रपात्राहरुबाट पोख्न सिपालु छिन् । सम्बोधन कथामा उनी लेख्छिन्– ‘के तिमीले घामलाई कहिल्यै छेक्न सकेकी छ्यौ ? यही मलाई निरुत्तर भइदिनुपर्छ ? म जबर्जस्ती अस्वीकार गर्छु घाम त व्याप्त छ सबै ठाउँमा उस्तै गरी, के तिमी छ्यौ त्यसरी ?’
शहरभित्र बजार छ, व्यवसाय छ, ठूला–ठूला व्यापारीहरु छन् । शहरभित्र होटेलहरु छन्, घर बन्छन्, घर भत्किन्छन् शहरमा व्यस्त छन् मानिसहरु । तर व्यस्तता केको हो र कति भाग विकासको लागि हो ? कसैलाई थाहा छैन । कलकारखाना सरकारी पत्रपत्रिकामा खुल्छन् साधरण नेपालीका सपनाहरु आँखीझ्यालमा खुल्छन् । भाषणहरुमा अन्तर्राष्ट्रिय समस्याहरु शासन गर्दछन् । घरदैलोको समस्या भने क्रमशः फाइल, गजेट र बजेटमा टुंगिन्छन् । काकाकूलको साधारण नेपाली निधारका रेखाहरु डोकोनाम्लोको मानचित्र अझ स्पष्ट कोरिएको देख्छु । घर, गृहिणी, घाँस, भारी, डोकोडालोमै छन् –घर आँगनको दाम्लोमा बाँधिएर । उनीहरुका लागि न मोटर गुड्छ न हवाईजहाज उड्छ न सपनाहरु फुल्छन् ।
हाम्रा साधारण दिदीबहिनीहरु माघ महिनामा स्वस्थानीको व्रतकथामा व्यस्त छन् । सतीदेवीको आत्मदाह गाउँघरमा कति दिदीबहिनीहरुले भोग्नुपरेको यथार्थ हो । उनका कथाहरु लेखिँदैनन्, कसैले सुन्दैनन् । बजारमा मौसमअनुसार तरकारी छ, ठूलो सरकारी जागिर पनि छ । नहुनेका लागि के छ ? महँगी छ, उदासीनता छ, चुनावी आरोह–अवरोह सब व्यर्थ छ । –‘काकाकुलको कथा नेपालीको कथा’ रिपोर्टाजबाट ।
माथिका हरफहरु भुवन ढुङ्गानाले आफ्नै कथा र रिपोर्टाजमा व्यक्त गरिएका भावनात्मक अभिव्यक्तिहरु हुन् । साहित्यको परिभाषा आजकल बदलिसकेको छ । आज साहित्यकारहरु स्वान्त सुखायका लागि मात्र साहित्य लेख्दैनन् । आफूले केही लेखेर धेरैका लागि केही दिन र केही गराउन आफ्ना चिन्तनहरु साहित्यमार्फत पोख्छन् । आजका साहित्यकारहरुले पुराना मान्यता र धारणाहरुलाई भत्काउँदै नयाँ दृष्टिहरु पोख्ने गर्दछन् । यस्तै विचार पोख्ने अभियानमा भुवन ढुङ्गाना पनि आफूलाई पेस गर्छिन्, यस्तै सोच र दृष्टिकोण पोख्न भुवन ढुङ्गाना कविता, कथा, निबन्धहरु लिएर साहित्यिक क्षेत्रमा देखा परेकी हुन् । कथामा जस्तै कविताहरुमा पनि भुवन ढुङ्गानाले सटिक शैलीमा आफ्ना मनमा खेल्ने भावनाहरु काव्यात्मक अभिव्यक्तिमा पोख्ने गर्छिन् । ‘मुक्ति’ कवितामा मुक्तिको परिभाषा दिँदै उनी लेख्छिन्–
कति हेर्नु ?
एक टुक्रा आकाश
त्यो पनि बन्द कोठाको झ्यालहरुबाट
मुक्तिको अर्थ एक टुक्रा आकाश
स्वतन्त्रताको अर्थ बन्द एउटा कोठा
मानौं यी सब अनमेल विवाह हुन् ।
विचारमा तीक्ष्णता, शैलीमा परिपक्वता देखिएपछि कुनै पनि कविहरु सफल मानिन्छन् । कवितामा शैली, विम्ब, प्रतिक, रचनात्मक अनुभूतिको समन्वय भएपछि राम्रो कविताको कोटिमा पर्न जान्छ । भुवन ढुङ्गानाका कविताहरु सबल छन्, सुन्दर शैली र उपमा–उपमेयमा कुँदिएका छन् । विचारमा तीक्ष्णता र व्यङ्ग्यमा शब्दमाधुर्यका रुपहरु छन् । सबल ढङ्गको चिन्तन बोकेर कथा, आत्मसंस्मरण, कविता लेख्दै आएकी भुवन ढुङ्गानाबाट भइरहेको निरन्तर साहित्यसाधनाले उनको उज्यालो भविष्यको नियात्रा सफलताको चुलीमा पुग्न सफल हुनेछन् । आशा गर्न सकिन्छ, यात्रा अनन्त जारी रहोस् ।
प्रतिक्रिया