‘मदनको विचारलाई छाड्न मिल्दैन’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण पार्टी मजबुद हुने अवस्थामा आएको बताउनुभएको छ । उहाँले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको हो ।

२६औं मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भण्डारीले अगाडि सारेको विचारधारालाई आत्मसात् गर्दै त्यस विचारधाराबाट पार्टी अगाडि बढ्ने बताउनुभयो । ‘मदन भण्डारीको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता हो ?’–उहाँले भन्नुभयो ।

भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रुपमा नभई मार्गदर्शकका रुपमा लिनुपर्नेमा जोड दिँदै उहाँले भण्डारीले अगाडि सारेको विचारले नै अन्त्यन्तै प्रतिकूल अवस्थामा कम्युनिस्ट आन्दोलनको रक्षा गरेको तथा कम्युनिस्टमाथिको सम्पूर्ण आलोचनालाई निस्तेज पारेको बताउनुभयो ।

चित्त सानो पारेर, मन दुखाएर नभई फराकिलो मनले पार्टी एकता र एकीकरणको भावनालाई मिलाउनुपर्नेमा जोड दिँर्दै उहाँले दुई वैचारिक धारालाई मिलाएर एउटा पार्टी बनाइएकाले असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । सफलतापूर्वक सरकार देश र जनताका पक्षमा दृढदापूर्वक लागेर काम गरिरहेको बताउँदै उहाँले यदि कहीँकतै कमजोरी भएमा तिनलाई सच्चाएर अगाडि बढ्ने बताउनुभयो ।

परिमार्जन गरेर अगाडि बढ्नुपर्छ: प्रचण्ड
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब दुनियाँको कुनै पनि ताकतले आफूहरुलाई हराउन नसक्ने बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने क्रियाकलाप आफूहरुले देखेको तर आफ्ना कार्यकर्ताको त्याग र तपस्याको परिणामले त्यो अर्थपूर्ण भएको बताउनुभयो ।

उहाँले पुरानो विचार दोहोराइयो भने वैज्ञानिक हुन नसक्ने बताउँदै भन्नुभयो– ‘विचारलाई पनि परिमार्जन गर्नुपर्छ । अग्रजले पु¥याएको विचारमा टेकेर आजको आवश्यक पूरा गर्नुपर्छ । नयाँ विचार र समाजवादको नयाँ मोडल दिने आँट गर्नुपर्छ । त्यो नै मदन र आश्रितको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपप्रधानमन्त्री तथा नेता ईश्वर पोखरेल, गृहमन्त्री तथा नेता रामबहादुर थापा, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।