पत्रकारितामा एन्टी भाईरस चाहिदैन भन्नेहरु अराजक: मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले पत्रकारितामा एन्टी भाईरस चाहिदैन भन्नेहरु अराजक भएको खुलासा गर्नु भयो ।

उहाँले सरकारले संसदमा दर्ता गरेको मिडिया विधेयक तर्फ लक्षीत गरि मिडियामा भाईरस पस्न नदिनका लागि बिधेयक एन्टी भाईरसका रुपमा लिनुपर्नेमा जोड दिनु भयो । लुम्बिनी भ्रमण वर्षकोअवसरमा नेपाल फोटो पत्रकार महासघको प्रथम राष्टिय भेलाको शुक्रवार लुम्बिनीमा उदघाटन गदै मुख्य मन्त्री पोखरेलले हरेक समाजका लागि एन्टी भार्एरस जरुरी रहेको बताउनु भयो ।

उहाँले विकास र समृद्धिको यात्रालाई साकार पार्न मिडियाको साथ जरुरी रहेको छ भन्दै लोकतन्त्रको सुन्दरता नै चेक एण्ड ब्यालेन्स भएको समेत बताउनु भयो ।

शनिवार देखि शुरु हुने लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउने बताउदै उहाँले आन्तरिक पर्यटक भित्र्याएर लुम्बिनीको विकास गर्नका लागि भ्रमणवर्षको घोषणा गरिएको बताउनु भयो ।

विश्व सम्पदा सुचीमा रहेको लुम्बिनीलाई जुन रुपमा स्थापित गर्नु पर्ने हो त्यो रुपमा गर्न नसकिएको उहाँले बताउनु भयो । लुम्बिनीलाई संस्कृति र परम्परासँग जोडेर विकास गरिने बताउदै उहाँले बुद्धकालीन सभ्यतासँग सम्बन्धित १० स्थान को पहिचान गरिएको बताउनु भयो ।

बुद्धकालीन सभ्यतासँग पहिचान १० स्थान मध्ये सबैभन्दा बढी कपिलवस्तुमा रहेको जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले तिलौराकोट उत्खननको काम पनि अघि बढेको बताउनु भयो ।

मुख्यमन्त्री पोखरेलले बुद्धकालीन सभ्यतासँग सम्बन्धित कपिलवस्तुका तिलौराकोट ,गोटिहवा, निग्लीहवा, सिसहनीया, कुदान,सग्रहवा रुपन्देहीको सैनामैनाको राजापानीजोगी डाँडा, देवदह भवानीपुर, नवलपरासीको रामग्राम, गण्डकनहर लगायतका स्थानलाई पहिचान गरि विकास गर्न थालिएको बताउनु भयो ।

नेपाल फोटो पत्रकार महासघका अध्यक्ष ध्रुव आलेको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, नेपाल पत्रकार महासघ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसी मनोज पौडेल लगायतले लुम्बिनीको विकासमा फोटो पत्रकारको भूमिका प्रशंसनीय भएको धारणा राख्नु भएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ भने भेलामा मुलुकका ५० जिल्लाका फोटो पत्रकारहरुको सहभागिता रहेको छ ।