शिक्षकको कार्यसम्पादन एक वर्षदेखि अन्यौलमा


हेटौंडा, (नेस) ।
मुलुक संघीयतामा गएसँगै संविधानले शैक्षिक क्षेत्रको अनुगमनको जिम्मा स्थानीय सरकारलाई दिएपछि स्रोतव्यक्ति हटाइँदा मकवानपुरका स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन फाराम एक वर्षदेखि अन्यौलमा छ ।

शिक्षकको बढुवाका लागि महत्वपूर्ण मानिने फाराम भर्ने र सदर गर्ने स्रोतव्यक्ति नहुँदा शिक्षकको बढुवा हुन सकेको छैन । फागुन ७ गतेको मन्त्रिपरिषद् निर्णयानुसार स्रोतकेन्द्रका स्रोतव्यक्ति हटाइएका थिए । स्रोतव्यक्ति हटाइएपछि शिक्षकको कामको मूल्यांंकन कुन निकायबाट हुने भन्ने व्यबस्था छैन । जसका कारण आफूहरुको पेशागत वृत्तिविकासमा बाधा पुगेको शिक्षकले बताएका छन् ।

प्रत्येक वर्ष वैशाखभित्र विद्यालयले स्रोतव्यक्तिमार्फत् स्थायी शिक्षकको मूल्यांकन फाराम भरी बढुवा प्रक्रियामा जाने गरेको थियो । तर, जिल्लाका १९ वटै स्रोतकेन्द्र हटेपछि अब कार्यसम्पादन मूल्यांकन फाराम स्थानीय तहले विद्यालयमार्फत् शिक्षकसम्म लैजाने व्यबस्था भएको शिक्षा विकास तथा समन्वय एकाईं प्रमुख लीलानाथ गौतमले बताउनुभयो ।

अघिल्लो वर्ष रोकिएका र नयाँ फाराम सँगै मूल्यांकन प्रक्रिया अघि बढ्ने प्रमुख गौतमको भनाइ छ ।