आँखामा खुर्सानी हालेर हत्या गर्न खोज्ने ३ जना पक्राउ


धनवीर दाहाल,रुकुम ।
आँखामा खुर्सानी हालेर हत्या गर्न खोजेको अभियोगमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन मार्फत उक्त घटनाका आरोपीलाई सार्वजनिक गरेको हो ।

भुमे गाउँपालिका वडा नं. ६ बस्ने डम्बर बुढा र उहाँको श्रीमती सीता घर्तिको आँखाको खुर्सानीलो धुलो हालेर कुटपिट गर्ने ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. १ बस्ने २० बर्षका टेकबहादुर बुढा, १९ बर्षका प्रकाश बुढा र २२ बर्षका कर्णबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उक्त घटनामा संलग्न कृष्ण बुढा भनेर फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार पक्राउ परेका मध्ये टेकबहादुरले डम्बर र उहाँको श्रीमती सीताबाट रातो च्याउ उपलब्ध गराईदिने भन्दै ८५ हजार लिएको र फिर्ता माग्दा ज्यान मार्नेगरी योजना बनाएका थिए ।

टेकबहादुरले बिहान पैसा दिन्छु भन्दै आठबिसकोट नगरपालिका वडा नं. ६ स्थित एक होटेलमा बोलाएका थिए । गत बुधबार बिहानै बास बसेको होटेलबाट बोलाएर वडा नं. ६ मा रहेको ढाडथलको पुल नजिक पुर्याएर दुबैको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट समेत गरेका थिए ।

डिएसपी खड्काका अनुसार पक्राउ परेका टेकबहादुरले प्रकाश, कर्ण र कृष्णसँग बसेर योजना बनाई उक्त घटना घटाएका थिए । आँखामा खुर्सानी छर्केर सीरानीको खोल टाउकोमा छिराई दुबै जनालाई दाउरा र ढुंगाले हानेका थिए । ‘डम्बरलाई मर्यो भनेर फालेका रहेछन्,’ डिएसपी खड्का भन्नुभयो, –‘सीतालाई पनि मार्ने योजना अनुसार पुलबाट नदिमा फाल्न खोज्दा हारगुहार गरेपछि स्थानीयले थाहा पाएको देखिन्छ ।’ त्यसपछि भागेका उनीहरुलाई प्रहरी बुधबार दिउँसो नै पक्राउ गरेको थियो ।

पीडित डम्बर र सीताले टेकबहादुरबाट पैसा फिर्ता माग्ने र यार्सागुम्बा खोजीको लागी डोल्पा जानलाई त्यहाँ पुगेका थिए । फरार रहेका कृष्ण बुढाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।