भारतीयले नेपालीलाई लखेटी–लखेटी कुटे, ५ नेपाली गम्भीर घाइते


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्लाको सुदूर उत्तरी नाका ठोरीसँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेकय छन् ।

इलाका प्रहरी कार्यालय ठोरीका अनुसार केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा पाँच नेपाली घाइते भएका छन् ।

किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताउनुभयो ।

सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए ।

भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् ।

भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतफ पठाइएको पनि प्रहरीले जानकारी दिएको छ । तर,भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारले पनि घटना भएको र घटनामा संलग्नहरु फरार रहेकये जिकिर गरेकय छन् ।

सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरेका छन् । भारतीयहरुले आफूहरुमाथि ज्यादती गरेकये भन्दै शुक्रबार बिहानैबाट स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् ।

ठोरी नाकामा बेला बेलामा भारतीय पक्षले ज्यादती गरेको भन्दै आन्दोलन हुँदा झडप समेत हुने गरेको छ । ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठले भारतीय पक्षको ज्यादती हद भन्दा बढी भएको बताउनुभयो ।