बेथान्चोकमा ‘शिव पार्वती’ गुफा


नेपाल समाचारपत्र, काभ्रे ।
बेथान्चोक गाउँपालिका साविक ढुंखर्क गाविस वडा नम्वर ७ बागनेमा रहेको शिव पार्वती गुफाको महत्व बुझाउन शुरु गरिएको छ ।

गाउँपालिका र स्थानीयहरुले गुफाको संरक्षण, प्रचार प्रसार र महत्वका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम शुरु गरेका हुन् । २०४२ सालमा एकजना शिकारी सिकार खेल्दै उक्त स्थानमा आईपुगेका थिए । सिकारीसँगै पछि पछि लागेर गएका स्थानीय नवराज तिमल्सिना ‘अवदोषी’ ले समेत उक्त गुफाका बारेमा जानकारी पाएका थिएनन् । उनी सानै थिए ।

गुफा नजिकै घर भएकाले उनले त्यस पछिका घटनाका बारेमा सर्वसाधारणलाई उनै नवराज तिमल्सिनाले जानकारी दिएका हुन् । सिकारी बन्दुक बोकेर जाँदै थिए । एउटा दुम्सी दुला भित्र पस्यो । दुम्सी मार्न उनले बन्दुक पड्काउन खोजे ।

जुन दुलामा दुम्सी पस्यो त्यो दुलामा बन्दुक पड्किएन । बन्दुक नपड्किए पछि सिकारीले उक्त स्थानमा भगवानलाई पुजा गर्ने भाकल गरे । दुम्सि उसलाई जसरी पनि मार्नु थियो । त्यस लगत्तै बन्दुक पड्कियो दुम्सी म¥यो । मरेको दुम्सि दुला भित्र लिन जाँदा तिनै शिकारी र नवराज तिमल्सिनाले दुलो भित्र अचम्मका दृश्यहरु देखे ।

जहाँ शिव र पार्वती आसन गरिरहेको अवस्थामा उनिहरुका दायाँ बायाँ विभिन्न शक्ति पिठहरुको उपस्थिती छ । शिव पार्वतीका आसपासमा रहने सबै देवगणहरु तथा उनले प्रयोग गर्ने सामाग्रीहरुको पनि नमुना छ । गाईको थुन जस्ता आकृतिहरुबाट शिव पार्वतीको भजन गाउँदा दुध चुहिए जस्तै पानीका थोपाहरु दुधकै आकारमा झर्न थाल्छन् । शिव लिंगमा पर्ने गरी झर्ने उक्त दुध आकृतिको बस्तु सहित माटोमै मादलको स्वरमा बज्ने सामाग्रीहरु छन् । अन्य अवशेषहरु पनि गुफा भित्र फेला परेका छन् ।

गुफा फेला परेको र गुफा भित्र शिव पार्वतीको आसन सहितको स्थान रहेको पत्ता लागेपछि बागनेमा मान्छेहरुको आवतजावत बढ्यो । त्यो क्षेत्रमा हेर्न आउने र दर्शन गरेर फर्कनेहरुको लर्काे लाग्न थाल्यो । ललितपुर, काठमाडौ, भक्तपुर र आसपासका क्षेत्रबाट दैनिक मान्छेहरु आउन थालेपछि स्थानीयहरु पसल समेत राख्न थाले ।

‘त्यतिबेला झण्डै ४५ वटा जति पसल थिए’–स्थानीय बद्रि तिमल्सिनाले भने–‘पसलमा भ्याई नभ्याई थियो । मान्छेहरुको लर्काे देख्दा अचम्म लाग्ने थियो ।’ मान्छेहरु गुफा पसेर निस्कँदा स्वर्ग पुगे जस्तै अनुभव भएको सुनाउँथे ।

नभन्दै गुफा भित्र पस्दा केहि सकस भए पनि त्यहाँ भित्र पुगेर त्यहाँका अवशेषहरुको अवलोकन गर्दा साँच्चै त्यति बेलाको बनोट र अवस्थासँगै आनन्दको महसुस हुने स्थानीय भिमप्रसाद तिमल्सिनाले बताए । स्थानीयहरुले उक्त गुफाको संरक्षणलाई ध्यान दिन र गुफाको प्रचार प्रसार गर्न गाउँपालिकालाई अनुरोध गरेका छन् ।

गुफामा दैनिक केहि सय मान्छेहरु आवतजावत भए पछि भिड बढ्यो । गाउँमा अशान्त मच्चिन थाल्यो । दिउसै लुटपाट हुन थाल्यो । कुटपिट हुन थाल्यो । ‘एक पटक ललितपुरको भारदेउ भन्ने स्थानमा गुफा नजिकैको घरबाट भैसी चोरेर पु¥याईएको फेला प¥यो’–स्थानीय भिमप्रसाद तिमल्सिनाले भने–‘चोरहरुको नियन्त्रण गर्न कठिन भयो ।’ चार वर्ष सम्म गुफामा आउने जाने क्रम भए पछि गाउँ शान्त गर्न एक दिन गुफा भित्रैबाट मान्छे हराएको हल्ला फैलियो ।

त्यो हल्लाका कारण गुफा भित्र मान्छे पस्नै छाडे । अखिर त्यो हल्ला मात्रै थियो । गाउँ शान्त बनाउन गरिएको उक्त प्रचारले त्यहाँको गुफा मात्रै ओझेलमा परेन त्यतिबेला शुरु भएका झण्डै ४५ वटा पसल, ब्यापार ब्यवसाय र आर्थिक समृद्धको यात्रा पनि पछि प¥यो । सडक सञ्जालमा समेत अब्बल बन्दै गएको बेथान्चोक गाउँपालिका पुनः उक्त गुफाको संरक्षण र प्रचार प्रसारसँगै पहिलाकै जस्तो आर्कषण गराउन लागि परेको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए ।

चार वर्ष चर्चामा आएर सेलाएको शिव पार्वती गुफालाई पर्यटनको हिसावले अगाडी बढाउन गाउँपालिकाले ५ लाख रुपैया बजेट विनियोजन गरेको थियो । उक्त रकमबाट गुफासम्म जान केहि थान सिंढीहरु निर्माण गरिएको छ । गुफा भित्र जंगली जनावारहरु जान नदिन गेट निर्माण तथा अन्य संरक्षणका लागि पनि ध्यान दिनु पर्ने छ ।