एचआईभी एड्सबाट सल्यानमा आठको मृत्यु


सल्यान ।
एचआईभी एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म संक्रमित आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआईभी संक्रमितको संख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । संक्रमित बालबालिकामध्ये पाँच जना काठमाडौँका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए ।

जसमध्ये सात जना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका उनले जानकारी दिए । जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका १८ मा १० महिला र आठ पुरुष छन् ।

संक्रमित पनि अरू व्यक्तिसरह नै विभिन्न व्यवसाय गर्दै आएका छन् । “एचआईभी संक्रमितमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन्, अरू पनि आ(आफनै व्यवसाय सञ्चालन गरिरहेका छन्”, विष्टले भने, “पहिले संक्रमितहरु बाहिर खुलेर आउन चाहँदैनथे, तर अहिले सजिलो भएको छ ।”