पत्रकार महासंघ डोटीद्धारा मिडिया काउन्सिल विधेयकको विरोध


विमल विष्ट, डोटी ।
नेपाल पत्रकार महासंघ डोटी शाखाले सरकारले हालै संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको बुधवार विरोध गरेको छ । विधेयकका सम्बन्धमा छलफल गर्न महासंघ डोटीद्वारा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आयोजित अन्तरक्रियामा स्वतन्त्र प्रेस विरुद्ध विधेयक आएको भन्दै महासंघ केन्द्रको निर्णयअनुरुप विरोधका कार्यक्रम सञ्चालन गर्ने नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले बताउनुभयो ।

उहाँले संविधानको मर्म र भावना विपरीत स्वतन्त्र प्रेसलाई संकुचन गर्ने किसिमबाट विधेयक आएको भन्दै प्रेस विरोधी प्रावधान हटाइनुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले पत्रकारिताको व्यावसायिक मर्यादा विपरीत विधेयक आएको बताउँदै मिडिया काउन्सिल सरकार मातहत हुन नहुनेमा जोड दिनुभयो ।

प्रेस सेन्टरका डोटी अध्यक्ष तथा रेडियो त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले लोकतन्त्र एवम् प्रेस स्वतन्त्रता एक आपसका परिपूरक भएको उल्लेख गर्दै सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पूर्ण स्वतन्त्र प्रेसको पक्षमा हुनुपर्ने बताउनुभयो । उहाँले नेपालका राजनीतिक पार्टीहरुले सत्तामा रहँदा र बाहिर रहँदाको प्रेसलाई हेर्ने दृष्टिकोण फरक रहेको धारणा राख्नुभएको थियो ।

स्वतन्त्र प्रेसको रक्षाका लागि मिडिया काउन्सिल गठनविरुद्ध सम्पूर्ण सञ्चारकर्मी एकताबद्ध बन्नुको विकल्प नभएको पत्रकारहरुको जोड थियो । उक्त कार्यक्रममा नागरिक समाज, सुरक्षाकर्मी र पत्रकारसंघ आबद्ध विभिन्न संघ संस्था एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।