तामासँगै बित्यो सत्र वर्ष !


धनवीर दाहाल, रुकुम ।
४२ वर्षका पञ्चराम टमाटा बिगत सत्र बर्षदेखी तामाको भाँडा बनाउनमै व्यस्थ छन् । सल्यान शारदा नगरपालिका घर भइ रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नं २ नायगाढमा सत्र बर्षदेखी तामाको भाँडा बनाइरहेका पञ्चरामले बार्षिक ५ लाख सम्म आम्दानी गर्ने गरेका छन् । सिस्ने गाँउपालिकाको नायगाडमा विगत १७ वर्षदेखी पञ्चरामका दम्पतीले तामाको भाँडा बनाइरहेका छन् ।

गाउँघरका पुराना तामाका भाँडा संकलन गर्ने र त्यसबाट नयाँ तामाका भाँडा बनाएर मनग्य आम्दानी गर्दै आईरहेका छन् । गाउँमा वर्षेणी तामाबाट बनेको भाँडाको माग बढ्दै गएपछि व्यवसायिक रुपमै तामाको भाँडा बनाउने पेशा अँगाल्नुपरेको पञ्चरामले बताउनुभयो ।

प्रयोगबिहिन अवस्थामा रहेका गाउँघरका पुराना तामाको भाँडा प्रतिकिलो ११ सयका दरले संकलन गर्ने र त्यसबाट नयाँ भाँडा बनाई प्रतिकिलो १७ सयमा बिक्रि हुने गरेको उहाँको भनाई छ । टमाटा दम्पतीले पुराना तामाको भाँडा संकलन र मर्मत खर्च कटाएर समेत बिक्रि भएको तामाको भाँडाबाट बार्षिक ५ लाख सम्म आम्दानी हुने गरेको बताउँछन् । गाउँबाट संकलन गरिएका पुराना तामालाई मर्मत गरेर गाग्री, ताउला, हुन्ना, लोटा लगायत नयाँ तामाको भाँडा बनाएर टमाटा दम्पतीले बिक्रि गर्दै आईरहेका छन् ।

मासिक २५ किलो सम्म तामाबाटै बनाईएका भाँडा गाउँमै सहज रुपमा बिक्रि हुने गरेको र केही तामाका भाँडा रुकुम पश्चिम, सल्यान, डोल्पा लगायतका जिल्लामा बिक्रि हुने गरेको पञ्चरामले बताउनुभयो । १७ वर्षदेखि तामाको भाँडा बनाउने पेशाले घर व्यवहार सञ्चालनका लागि समेत सजिलो भएको पञ्चरामकी श्रीमति केवली टमटाको भनाई छ ।

मासिक २ सय ५० रुपैयाँ भाडा तिर्ने गरी नायगाडमा रहेको एउटा घर नै भाडामा लिएर टमाटा दम्पतीले पुराना तामाबाट नयाँ तामाका भाँडा बनाउँदा यहाँका स्थानीयलाई पनि सजिलो भएको छ । स्थानीय गणेश खड्काका अनुसार आवश्यक पर्ने तामाका भाँडा खरिदका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । विशेष गरेर तामाको भाँडा बिहे–भोज, पुजापाठ र घरायसी प्रयोजनका लागि महत्वपूर्ण मानिन्छ ।