सिंहदरवारको केन्द्रीय डाटा अब हेटौंडामा पनि


हेटौंडा ।
सरकारले हेटौंडाको हुप्रचौरमा निर्माण भएको डिजाष्टर रिकभरी केन्द्र स्थापना गरेको छ । केन्द्रको उद्घाटन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गर्नुभयो ।

काठमाडौंको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रुपमा हेटौंडा–४ को हुप्रचौरमा स्थापना गरिएको डाटा सेन्टरको उद्घाटन गरिएको हो । डाटा सेन्टर निर्माण भएर परीक्षणका रुपमा काम सुरु गरिएको थियो । नगर विकास समितिको १० कठ्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको हो ।

सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअप नहुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत् सरकारी एकीकृत डाटा केन्द्र प्रभावकारीढंगले सञ्चालनमा आउन नसकेको प्राविधिकले बताएका छन् । डाटा सेन्टरलाई प्रभावकारी सञ्चालनका निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि कोरियाको सहयोगमा हेटौंडामा डाटा सेन्टर निर्माण गरेको हो ।

मुलुकको महत्वपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप, मानवीय त्रुटिमा समेत नष्ट नहोस् भनेर रिकभरी साइट बनाइएको हो । यस्ता साइट मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधार सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौंडालाई रोजिएको हो ।

यहाँको सेन्टरमा सिंहदरबारको डाटा राखेर परीक्षण गरिसकिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को ३७ करोड लागतमा ठेक्कामार्फत् सेन्टर निर्माण सकिएको हो । १९ जना कम्युटर इञ्जिनियरलगायत प्राविधिक कर्मचारी छनौटको काम सकिएको र केही दिनमा ती कर्मचारीले काम सुरु गर्नेछन् ।

२०७२ सालको भुकम्पपछि केन्द्र निर्माणलाई बढी प्राथमिकता दिइएको हो । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरुको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने सरकारी भनाइ छ ।

नेपाल आदर्श कम्पनीले काम सुरु गरेको १८ महिनामा भवन निर्माण सम्पन्न गरेको हो हेटौंडामा निर्माण भएको डाटा सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको संग्रहालयको रुपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगसँग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, इप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, इकस्टमलगायत ईसेवा सञ्चालन हुनेछन् । कोइकाले सबै निर्माण पूरा गरेर केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

केन्द्र राख्नका निमित्त पोखरालाई वैकल्पिक स्थान छानिए पनि काठमाडौं र पोखराको बीचमा धेरै कुरामा समान भौगोलिक क्षेत्र, एकमात्र स्थलमार्ग र कमजोर भूधरातलीय बनौट भएकाले हेटौंडा उपयुक्त देखिएको हो । काठमाडौंको केन्द्रमा सुरक्षा सबल र २४ सै घण्टा विद्युत् आपूर्ति सेवा उपलब्ध भएपनि भुकम्पीय जोखिमबाट तथ्यांकलाई सुरक्षित राख्न काठमाडौंभन्दा फरक भूधरातल तर काठमाडौंबाट सहज आवागमनको ठाउँ भएकाले अन्यत्रभन्दा हेटौंडा उपयोगी हुने देखिएको हो ।

नागरिकका सम्पूर्ण सूचना केन्द्रिकृत हुने केन्द्रमा स्मार्टकार्ड, भूमि सुधारसम्बन्धि कागजपत्र, लोकसेवा, चालक अनुमतिपत्र, भन्सार, एमआरपीलगायत राज्यका अतिआवश्यक तथ्य र तथ्यांक संग्रह गरिनेछ । यस्ता तथ्यांकहरु राज्य र नागरिकको अमूल्य सम्पत्ति हुने हुँदा एक ठाउँमा कारणवश क्षति पुगे प्रशस्त नोक्सानी सहनुपर्ने भएकाले विशेषतः काठमाडौंमा हुनसक्ने भुकम्पीय जोखिमबाट तथ्यांक सुरक्षित राख्न हेटौंडामा एकीकृत सूचना केन्द्र राख्ने पहल गरिएको थियो ।

प्राकृतिक वा मानव सृजित विपत्तिको समयमा सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेका सरकारी तथ्यांक एवम् सूचना नाश हुनबाट जोगाउने केन्द्र निर्माणका लागि कोरियाले सहयोग गरेको हो । सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रले समेत प्रयोग गर्नसक्ने तथ्यांक र सोसम्बन्धि सूचना एकीकृत गर्ने उद्धेश्य राखेर विज्ञान तथा प्रविधि मन्त्रालयले कोइकाको सहयोगमा केन्द्र स्थापनाका लागि जग्गा छनौट गरेका थिए । देशमा विद्युतीय सुशासनको अवधारणा लागु भइसकेको सन्दर्भमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले हेटौंडामा एकीकृत सूचना केन्द्र स्थापना गरेको हो ।

प्रहरी र सेनाको सेन्ट्रीपोष्ट, उच्च सुरक्षित भवन, कोलाहलमुक्त वातावरण, विद्युत्को दोहोरो फिडर सुबिधा र वैकल्पिक विद्युत् प्रणाली स्थापनाका लागि फराकिलो क्षेत्रमा केन्द्र निर्माण गरिएको हो ।