बोर्डका कारण अल्मलिँदै ग्राहक


हेटौंडा ।
हेटौंडा–४, पारिजातपथमा फलफुल किन्न जानुभएकी हेटौंडा—५ की मीना चौलागाईंले ‘फलफुल पसल’ लेखिएको सटर देख्नुभयो । र, लाग्नुभयो उतैतिर । तर, त्यहाँ पुग्दा सटरमा लुगा व्यापार गरिरहेको भेटनुभयो र त्यर्स फर्किनुभयो । उहाँ भन्नुहुन्छ–म त्यसै फर्कनुप¥यो । यसरी झुक्याउने काम गर्नु गलत रहेको उहाँले गुनासो पोख्नुभयो । ‘मान्छे कहाँ पुग्नुपर्ने हुन्छ, समयमात्र बर्बाद,’ उहाँले आक्रोशित हुनुभयो ।

पारिजातपथकै एउटा सटरमा रहेको गायत्री कपडा पसलको बोर्डमा लेखिएको छ–यहाँ सम्पूर्ण प्रकारका साडी, कुर्ता÷सुरुवाल, सुटपिस, बेडसिट तथा अन्य लेडिज सामान होलसेल रेटमा पाइन्छ । तर, त्यहाँ इलेक्ट्रिक सामान मर्मत गरिन्छ । पसलका प्रोप्राइटर राजेन्द्र थापाका अनुसार दुई वर्षदेखि उहाँले उक्त सटरमा पसल सञ्चालन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो–नभ्याइएका कारण नाम हटाएर आफ्नो पसलको नाम लेख्न नसकेका हौं ।

हेटौंडा—४, कान्तिराजपथमा ‘फोटोकपी गरिन्छ’ भनिएको सटरमा भाँडा पसल छ । पसलका प्रोप्राइटर धिरज बानियाँ फोटोकपी गर्ने पसलमा हालै उहाँले भाँडा पसल राखेको बताउनुहुन्छ । ‘कति ग्राहक त फोटोकपी गर्नुछ भन्दै आउँछन्,’ उहाँले भन्नुभयो । ग्राहकलाई नझुक्याउन आफूले अब बोर्ड परिवर्तन गर्ने उहाँले बताउनुभयो । बानियाँको पसलमा मात्र होइन, यहाँ धेरै पसलमा यसरी ब्यापार चलिरहेको देखिन्छ ।

सामान्यतयाः हरेक संस्था तथा व्यापार÷व्यबसायको परिचय पसल÷कार्यालयमा राखिएको बोर्डले दिन्छ । बोर्डमा लेखिएअनुसार ग्राहकलाई उक्त संस्था वा पसलतिर आकर्षित गरिन्छ ।

तर, हेटौंडाका मुख्य बजारमा भने बोर्डका कारणले कयौं ग्राहक अलमलमा पर्नुपर्ने अबस्था छ । बजारमा पसलको नाम एक छ तर व्यापार अर्कै गरिरहेको देख्न सकिन्छ । होर्डिङ बोर्ड होस् वा सटर, लेखिएको नाम एउटा हुन्छ भने व्यापार फरक छ । यसो गर्नाले व्यापारीलाई असर त पर्ने नै भयो, ग्राहकसमेत अलमल पार्नुपर्ने अबस्था रहेको गुनासो छ ।