विराटनगर महानगरपालिका लक्ष्य अनुसारको राजस्व उठाउन असफल


१० महिनामा २६ करोड राजस्व संकलन

सरोज यादव, विराटनगर ।
प्रदेश १ कै एक मात्र महानगरपालिका विराटनगर महानगरपालिका यो आर्थिक बर्षको बैशाख मसान्तसम्ममा लक्ष्य अनुसारको राजस्व उठाउन असफल भएको छ । महानगरले लक्ष्यको आधामात्र राजस्व उठाएको छ ।
महानगरपालिकाले यो अवधिमा ५६ करोड राजस्व उठाउने लक्ष्य लिइएकोमा यो आर्थिक बर्षको १० महिनामा २६ करोड ३ लाख ८५ हजार मात्र राजस्व उठाउन सकेको छ ।

महानगरपालिकाले यो आर्थिक बर्षको १० महिनाको अवधिमा लक्ष्य भन्दा आधा अर्थात २६ करोड ३ लाख ८५ हजार मात्र राजस्व उठाउन सफल भएको हो । महानगरपालिकाले सवैभन्दा बढी १ करोड ४७ लाख सिफारिस दस्तुरबाट राजस्व उठाएको छ ।

यस्तै सवारी साधन करबाट ७० लाख,सरकारी सम्पति बहालबाट ३५ लाख, सम्पति कर ६ करोड ६३ लाख राजस्व उठाउन सफल महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताउनुभयो । यस्तै जनप्रतिनिधिहरु आएपछि आर्थिक बर्ष २०७५/०७६ देखि वडा वडालाई नै राजस्व उठाउन महानगरपालिकाले अधिकार विनियोजन गरेको थियो ।

जसमा सबैभन्दा बढी वडा नम्बर ९ ले राजस्व उठाउन सफल भएको छ । वडा नम्बर ९ ले २ करोड ३८ लाख राजस्व उठाउन सफल भएको छ । यसैगरी वडा नम्बर ३ ले २ करोड ७ लाख , यसैगरी वडा नम्बर ७ ले १ करोड ८७ लाख , वडा नम्बर ४ ले १ करोड ८३ लाख, २ ले १ करोड ५० लाख, १० ले १ करोड ३५ लाख, ११ को १ करोड १९ लाख , वडा नम्बर ५ ले १ करोड १८ लाख , ६ ले १ करोड ११ लाख राजस्व उठाएको महानगरले जनाएको छ । यस्तै १२ ले ८९ लाख, वडा नम्बर १ ले ८२ लाख , ८ ले ७५ लाख, वडा नम्बर १३ ले ४३ लाख, १४ ले ५३ लाख,१५ ले ३६ लाख,१६ ले २२ लाख,१७ ले १० लाख, १८ ले ९ लाख, १९ ले ३९ लाख राजस्व उठाएको हो ।

यद्यपी प्रमुख प्रशासकीय अधिकारीले गएका बर्षहरुमा आर्थिक बर्षको अन्त्य तर्फ राजस्व बढी उठेको देखिएकोे बताउदै यस वर्षपनि राजस्वको लक्ष्य हासिल हुने दाबी गर्नुभयो । उहाँले विराटनगरको विकास र समृद्धिमा विराटनगरबासीको भूमिका अपरिहार्य रहेको बताउदै सबैलाई कर तिर्न अपिल पनि गर्नुभएको छ ।

यता वडाध्यक्षहरुले भने विराटनगर महानगरपालिको वडा वडालाई अधिकार दिएपनि जनशक्तिको अभावले सोचे जति राजस्व उठाउन नसकेको गुनासो गरेका छन् ।