बुद्धलाई चिनाउने हेटौंडेली प्राध्यापक सम्मानित


हेटौंडा,(नेस) ।

गौतमबुद्ध लुम्बिनीमा जन्मिएको सन्देश विश्वभर चिनाउन सफल हेटौंडेली पुरातत्वविद् प्रा. वसन्तकुमार बिडारीलाई गृहनगरमा नगदसहित सम्मान गरिएको छ ।

हेटौंडा–११, नवलपुर घर भएका बिडारीले लुम्बिनीमा गौतम बुद्ध जन्मिएको सन्देश विभिन्न भाषामा पुस्तक लेखेर विश्वभर प्रमाणित गरेकोले सम्मान गरिएको हो ।

रोटरी क्लब अफ हेटौंडाले चार्टर्डडे र भोकेस्नल एक्सिलेन्स अवार्डको कार्यक्रम गर्दै उहाँलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद २५ हजार रुपियाँसहित सम्मानित गरेको हो । हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले उहाँलाई नगदसहित सम्मान गर्नुभएको थियो ।

हेटौंडा–११, नवलपुरमा रहेको त्रिभुवन माविमा प्रधानाध्यापक र मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकका रुपमा सेवा गर्नुभएका बिडारीले बुद्ध लुम्बिनीमा जन्मिएको र नेपाल चिनाउन विभिन्न पुस्तक लेख्नुभएको छ ।

सन् १९८५ मा लुम्बिनी विकास कोषमा बरिष्ठ पुरातत्वविद्का रुपमा प्रवेश गर्नुभएका बिडारीले बुद्ध लुम्बिनीमा जन्मिएको सन्देश विश्वभर प्रमाणित गर्न नेपाली, अंग्रेजी, नेवारी, थाई, चिनियाँ र जापानी भाषामा पुस्तक लेख्नुभएको छ । यी पुस्तक हाल धेरै देशका नागरिकमाझ पुगेर बुद्ध नेपालमा जन्मिएको प्रमाणका रुपमा लिएको उहाँ बताउनुहुन्छ । ‘लुम्बिनीको मौन आह्वान’ उहाँको चर्चित पुस्तक हो ।

पुरातत्वविद् बिडारी तीन दशकदेखि लुम्बिनीमा बसेर गौतम बुद्ध र बुद्धस्थलबारे खोज, अनुसन्धानमा क्रियाशील हुनुहुन्छ । लुम्बिनी बुद्धिष्ट विश्वविद्यालयमा अध्यापनरत् बिडारी लुम्बिनीको विकास र प्रवद्र्धनमा अहोरात्र खटिरहनुभएको छ । बुद्ध र उनी सम्बद्ध क्षेत्रको गहिरो अध्ययन गर्नुभएका बिडारीकै कारण लुम्बिनीलाई युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको हो ।

उहाँ भन्नुहुन्छ–लुम्बिनी आफैंमा बहुआयामिक छ । यो ऐतिहासिक र राष्ट्रले गौरव गर्न लायक छ । बुद्धले आफ्नै जीवनकालमा कतै पनि चर्चा गरेनन् र ग्रन्थमा पनि लुम्बिनीबारे खासै केही भनिएको छैन । तर, जब बुद्ध कुशीनगरमा थिए र उनले आफू धेरै नबाँच्ने भन्ने बुझे । उनको महापरिनिर्वाणको समय आइसकेको थियो । त्यही बेलामा उनले अनुयायीलाई सम्झाउँदै बुद्धत्व र धर्मबारे ब्याख्या गरे ।

‘मान्छे बाँच्ने आआफ्नै तरिका, आदर्श र मूल्यमान्यता बन्दा रहेछन् । सडक खाल्डाखुल्डी भएको बेला कहिलेकाहीं चालक आत्तिन सक्छ । बाटो सहज हुन्छ, चालक खुसी हुन्छन् । हो, त्यस्तै भयो मेरो यात्रा पनि,’ उहाँले थप्नुभयो–अनेक उतारचढावपूर्ण जीवनमा लुम्बिनी आइपुगेपछि शान्ति भेटेको हुँ । यस क्षेत्रको अध्ययन र अनुसन्धानमा लामो समय खर्चेको छु ।

उहाँ भन्नुहुन्छ–बुद्धिष्ट हुन धेरै चुनौतीपूर्ण छ । धर्मका कारण युद्ध भए । सयौं मानिस मारिए । धार्मिक भएर अरुको हत्या गर्नु गलत हो । बरु असल मान्छे बन्नुपर्छ भन्ने बुद्धको सन्देश छ । तपाईं असल मान्छे बनिदिनुहोस्, बुद्धको अनुयायी बन्नुपर्दैन ।