चोरी भएका शालिग्राम भेटिएको खुसीयालामा बाजागाजा सहित शोभायात्रा


नेपाल समाचार, पर्वत ।
मन्दिरबाट चोरिभएपछि भेटिएका शालिग्राम शिलालाई बाजागाजा सहित शोभायात्रा गरेर मन्दिरमा भित्र्याइएकोछ ।
पर्वतको पबित्र धार्मिकस्थल मोदीबेनी स्थित नृसिँह मन्दिरबाट चोरी भएपछि भेटिएका शालिग्राम शिला बोकेर भक्तजनहरुले बाजागाजा सहित रथयात्रा र शोभायात्रा गरेर मन्दिरमा भित्र्याएका हुन ।

वडागाउँ बाट बजार परिक्रमा गर्दै जिल्ला प्रसासन कार्यालयमा बाजागाजा, भजनकिर्तन र झाँकी सहित शोभायात्रा गराईएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासन कार्यालयको प्राङ्गणमा राखेर केहिवेर पुजा अर्चना समेत गर्नुभएको थियो । प्रशासन र प्रहरीको विशेष सक्रियतामा चोरी भएका शीलाहरु भेटिएको भन्दै प्रशासन र प्रहरी कार्यालयमा पु¥याईएको थियो ।

गएको फागुन ४ गते हराएका ४७ वटा शालीग्राम शिला २० दिनपछि प्रहरीले खोजतलासको क्रममा फेला पारेको थियो । हराएका शिला भेटिएपछि तिनीहरुको शोभायात्रा आज गरिएको हो । शालिग्राम शिलालाई आगामी जेठ ३ गते नृसिँह भगवानको जन्मोत्सव परेको हुँदा सोहि दिन क्षमापूजा गरेपछि मात्रै मन्दिरको सिँहसानमा राखिने भएको छ । नृसिँह मन्दिर संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जेठ ३ गते भव्य पूजाआजा, भजन किर्तन गरेर मन्दिरमा शिला प्रतिस्थापन गरिने बताउनुभयो ।

३ देखि ४ गते सम्म अखण्ड किर्तन समेत आयोजना गरिएको छ । मोदीबेनी र शालिग्रामको धर्मग्रन्थमा ठुलो महत्व रहेको उल्लेख छ । शालिग्रामलाई विष्णुको साक्षत रुप मानेर हिन्दुधर्ममा आस्था राख्नेहरुले पुज्ने गरेका छन् ।

शालिग्रामलाई तुलसीको मठ र पूजाकोठामा राखेर नित्य पूजा गर्दा धेरै बाधा व्यवधान बाट मुक्ति पाईने विश्वास समेत रहेको छ । २ सय वर्ष पुराना प्राचिन दुर्लभ नृसिँह मन्दिरमा अति नै पौराणिक शालिग्राम शिला संग्रह गरेर राखिएको छ ।

यस अघि जगतगुरुले हराएका शालिग्राम भेटिएको भन्दै प्रमुख जिल्ला अधिकारी ढकाल र तत्कालीन प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान समेत गर्नुभएको थियो ।