सीटीईभीटीले ग-यो मन्त्रीको चाकडी, शिक्षामन्त्रीलाई शिलान्यास गर्न हतार

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पुरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)ले कुनै प्राविधिक तयारी नै पुरा नगरी मन्त्री पोखरेललाई शिलान्यास गर्न लगाइएको हो ।

मन्त्री पोखरेलले शिलान्यास गर्ने विषयमा जानकारी नै नलिई लोकप्रियता कमाउन महोत्तरीको बर्दिवासको खयरमारामा निर्माण गर्ने तयारीमा रहेको निर्मल लामा नमुना प्राविधिक शिक्षालय र चितवनको माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालय शिलान्यास गर्नु भएको छ ।

मन्त्री पोखरेलले गएको शुक्रबार लामा र करिब एक महिना अघि दिवाकर प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको थियो । परामर्शदाता छनौट, वातावरणीय परीक्षण, माटो परीक्षण, टेण्डर आब्हान, स्टिमेट गरेर ठेकेदार छनौट गरेपछि मात्रै निर्माण शुरु गर्नुअघि शिलान्यास गर्ने परम्परालाई मन्त्री पोखरेलले तोडेर ती दुवै शिक्षालयको शिलान्यास गर्नु भएको छ ।

त्यस अघि सिटिइभीटीले कुनैपनि संरचना निर्माण गर्नुअघि एजुकेशन ब्रिफ गर्ने व्यवस्था छ । सिटिइभीटीले दुई पोलिटेक्निकको विषयमा हालसम्म ती काम गरेको छैन ।

तर सिटिइभीटीले कुनैपनि प्रकृया नपु¥याई काम देखाउन हतारमा दुई पोलिटेक्निक शिक्षालयको शिलान्यास गरेको छ । स्रोतका अनुसार सिटिइभीटीको प्रदेश २ कार्यालयले बल्ल परामर्शदाता छनौट गर्न सूचना जारी गरेको छ ।

सो कार्यालयले करिब २० लाख रुपियामा परामर्शदाता छनौट प्रकृया शुरु गरेको छ । परामर्शदाताले जेठ ४ गतेसम्म निवेदन दिने समय तोकेकोछ ।
माडीमा निर्माण गर्ने तयारी गरिएको दिवाकर पोलिटक्निक शिक्षालयको लागि हालसम्म कुनै प्रकृया शुरु भएको छैन ।

निर्माण गर्ने पक्का भएपछि शिलान्यास गरेको बताउदै सिटिइभीटीका सदस्य सचिव पुष्पराज वाग्लेले अन्य काम बिस्तारै गर्दै जाने दावी गर्नुभयो । प्रकृया नै शुरु नगरी शिलान्यास गर्न मिल्छ त ? भन्ने नेपाल समाचारपत्रको प्रश्नमा उहाले भन्नुभयो– निर्माण गर्ने पक्का भएपछि शिलान्यास गरिएको हो ।

-परामर्शदाता, टेण्डर र ठेकेदार नै छनौट भएन

शिलान्यास गर्नुअघि ठेक्का लिने कम्पनीको नाम,लागत स्टिमेट सम्पन्न गर्ने मिति लगायतका विषय उल्लेख गरी सार्वजनिक सूचना राख्ने सरकारी नियम रहदै आएको छ । तर सिटिइभीटीले माथीका विषयमा कुनैपनि काम शुरु नै नगरी शिलान्यास गर्न लगाएको तथ्य सार्वजनिक भएको छ ।

सदस्य सचिव वाग्लेले दुवै शिक्षालय लाई ५–५ करोड रुपिया बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । कहा र कसरी बनाउने ? भन्ने विषयमा निर्णय नै नगरी शिलान्यास गरेको विषयमा प्रश्न गर्दा सदस्य सचिव वाग्लेले भन्नुभयो –विकास विरोधीले कुरा काटेका होलान हामीले काम शुरु गरिसक्यौ बाँकी काम पछि गर्दै जाउंला । यता कानुनी प्रकृया पुरा नै नगरी मन्त्रीलाई खुसी पार्न शिलान्यास गर्न लगाएको आरोप कर्मचारीले लगाएका छन ।

नक्सा समेत तयारी नगरी शिलान्यास गर्दा कुनै समस्या नपर्ने उहाले दावी गर्नुभयो े । ‘तपाईले घर बनाउदा पनि नक्सा पास नै नगरी शिलान्यास गर्नुहुन्छ हैन भन्दै सदस्य सचिव वाग्लेले भन्नुभयो–हामीले त्यही स्थानमा प्राविधिक शिक्षालय निर्माण गर्न शिलान्यास गरेका हौं ।

सिटिइभीले जारी गरेको प्रतिबद्धता पुरा गर्न सात वटै प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्ने कार्यक्रम अनुसार दुई स्थानमा शिलान्यास गरेको दाबी गरेको छ ।

सिटिइभीटी प्राविधिक शिक्षालय महाशाखा प्रमुख विनय मिश्रले ड्रइङ, डिजाइनिङ, ठेकेदार छनौट लगायतका प्राविधिक विषयका काम चाडै सम्पन्न गर्ने गरी दुई प्राविधिक शिक्षालयको सिलान्यास गरिएको बताउनुभयो । उहाले भन्नुभयो–वार्षिक योजना भएकोले हतारमा उद्घाटन गरिएको हो, सबै प्रकृया पुरा गरेर मात्रै निर्माणप्रकृयामा जान्छौ ।

शिलान्यास गरिएको दुई प्राविधिक शिक्षालयले गएको भदौ देखि नै कार्यक्रम संचालन गरिरहेका छन् । अमर लामा प्राविधिक शिक्षालयले डिप्लोमा इन सिभिल इन्जिनियरिङ र सर्भे विषय अध्यापन गराइरहेको छ । त्यस्तै माडीमा कृषी अन्तर्गत भेटेनरी साइन्स र डिल्लोमा सिभिल इन्जिनियरिङ विषय पढाउन शुरु गरेको छ ।

माडी प्राविधिक शिक्षालयले माडीको एक आधारभुत विद्यालयमा र बर्दिबासमा तत्कालिन माओवादीको लडाकु राखिएको क्यान्टोनमेन्टको भवनमा कक्षा संचालन गरिरहेको छ ।