‘कुलुङ लोकवार्ता’को सेरोफेरो

376
Shares

तुम्नो कुलुङ
हाल विश्वका धेरै कम आदिवासी जनजातिहरुको मात्रै ऐतिहासिक भूमि एवम् मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, भेषभूषा, चाडबाड, गरगहना, रीतिथिति आदि जीवित रहेको अवस्था छ । त्यसरी ऐतिहासिक भूमि एवम् मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, भेषभूषा, चाडबाड, गरगहना, रीतिथिति जीवित रहेको आदिवासी जनजातिहरुमा नेपालको ‘कुलुङ जाति’ पनि एक हो ।

तर दुःखको कुरो कुलुङ जातिलाई हालसम्म राज्यले अलग्गै जाति मानेको छैन । स्मरणीय छ, पहिले–पहिले राई भनेर चिनिने कुलुङलगायत अन्य १२ किराती जातिहरुले २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जाति लेखाएका छन् । त्यसो भए तापनि उनीहरुलाई नेपाल सरकार, नेपालको राज्य व्यवस्था, नेपालस्थित दातृ निकाय, आईएलओ, आईएनजीओ, एनजीओलगायत संघसंस्थाहरुले हालसम्म राई जातिमै गाभेको÷राई जाति नै मानेको अवस्था छ । जे होस्, वि.सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने कुलुङ मातृभाषीको वक्ता संख्या भने जातीय जनसंख्याभन्दा बढी अर्थात् ३३ हजार १ सय ७० रहेको छ ।

कुलुङ समुदायलाई नेपालका अन्य जात वा जातिहरुले कुलुङ भनी चिन्नु÷भन्नुअघि कुलुङ जातिको २३ पुस्ता रहेका थिए । यसरी नेपालका अन्य जात वा जातिले कुलुङ भनेर चिनिनुअघि कुलुङ जातिको मुख्य ४ पुर्खाहरु थिए । उनीहरु क्रमशः खप्दुलू, राताप्खू, ताम्सी र छेम्सी थिए । ती पुर्खाहरु शुरुमा बसोवास गरेको क्षेत्र÷ठाउँ हूल (हुलू), सोत्तो (सोताङ), पिल्मो (पिल्मोङ), छेम्सी र छेस्खाम हो । शुरुमा कुलुङ जातिका पुर्खाहरु बसेको ठाउँकै आधारमा यी ठाउँबाट बसाइँ सरेर अन्यत्र गएका कुलुङका सन्तानहरुले अहिले पनि आपूmहरुलाई सोत्तोस वा सोताङे, पिल्मोस वा पिल्माङे, छेस्खामे र छेम्सी वा छेम्सिङे भनेर चिनाउँछन् । कुलुङ जातिको ऐतिहासिक भूमिलाई महाकुलुङ भनिन्छ । जुन हालको राजनीतिक विभाजनअनुसार १ नम्बर प्रदेशको सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाको भू–क्षेत्रहरु हुन् ।

नेपाल सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८, अन्तर्राष्ट्रिय कानुन, आईएलओको परिभाषा आदिले आदिवासी जनजाति हुन चाहिनलाई तोकेको विभिन्न आधारहरु सबै भएर पनि राईकरणको मारमा पर्न बाध्य पारिएको जाति हो ‘कुलुङ जाति ।’
त्यसो भए तापनि नेपाल सरकारको मातहतमा रहेको भाषा आयोगले केही समयअघि कुलुङ जातिको लोककथा संग्रह ‘कुलुङ लोकवार्ता’ नामक किताब पहिलो संस्करणको रुपमा प्रकाशन गरेको छ । जुन संस्करण परीक्षण संस्करणको रुपमा छापिएको हो ।

सो किताबमा कुलुङ जातिमा प्रचलित कैयौं लोककथामध्ये २६ वटा कुलुङ भाषाका लोककथा संग्रह छापिएको छ । मूल भाषा वा माध्यम कुलुङ भाषामा छापिएको भए तापनि हरेक लोककथालाई नेपाली भाषामा पनि उल्था गरिएको हुनाले कुलुङ जातिमा रहेको लोककथा र लोक मान्यता वा भनौं कुलुङ जातिमा रहेको मिथकलाई अन्य भाषाभाषीले पनि सहजै पढ्न र बुभ्mन सक्नेछन् । यसरी हेर्दा कुलुङ जातिका बारेमा जान्न, बुभ्mन चाहनेहरुले कुलुङ जाति के हो, उनीहरुको लोकजीवन र लोककथाहरुमा कस्तो–कस्तो वर्णन छ त ? पढ्ने, बुभ्mने र जान्ने अवसर पाउनेछन् ।

यसरी प्रकाशित २६ वटा कुलुङ लोकवार्ता संग्रहले कुलुङ जातिको उत्पत्ति कथा, कुलुङ जातिमा अल्लोको कपडा लगाउन शुरु भएको कथा, कुलुङ समुदायले किन अल्लोलाई अनिवार्यरुपमा प्रयोग गर्छन् ? कुलुङ जातिमा गोरु जुधाइ खेलको शुरुवात, कुलुङ जातिको मुख्य चाडपर्वमध्ये मिनारी–दाचाम मनाउन शुरु गरिनुको कारण र कथा, कुलुङ समुदायका आदिम पुर्खाहरुमध्ये लोस, खेउ र खोक्चीलिप (दुई दिदीबहिनी र भाइ) को विछोड र मिलनको कथा, कुलुङ समुदायमा खेतीपाती एवम् घर निर्माणको शुरुवात कसरी भयो, यस जातिमा मृत्यु हुँदा जुठो बार्नु नपर्ने कारण, केटा मान्छेले सँुगुरको आन्द्रा खान नहुने कारण, ललदुम (वनझाँक्री), चान्मा र कोमालेक नामक पुर्खाहरुको कथालगायतका कुराहरु कुलुङ लोकवार्तामा संग्रह गरिएको छ ।

यसरी नेपाल सरकारले हालसम्म जातीय स्वपहिचान नदिएको समुदायको बारेमा रहेको लोककथा÷लोकवार्ता संग्रह प्रकाशन गरेर भाषा आयोगले वास्तवमै सितिमिति तिरिनसक्ने गुण लगाएको मान्नुपर्ने हुन्छ । यसका लागि भाषा आयोगका प्रमुख डा. लवदेव अवस्थीलगायत भाषा आयोगका अन्य कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्नै पर्छ ।