अस्पतालको फार्मेसी बन्द हुँदा विरामी मर्कामा


नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्ला अस्पतालले सञ्चालनमा ल्याएको औषधी विक्रि कक्ष (फार्मेसी) बन्द हुँदा सेवा ग्राही मर्कामा परेका छन् । यस बैशाखदेखि फार्मेसी बन्द हुँदा अस्पतालमा उपचार गराउने विरामीलाई समस्या परेको हो ।

जिल्ला अस्पताल पर्वतले डाक्टरको अनुमतिमा औषधी प्रदान गर्ने सञ्चालनमा ल्याएको फार्मेसी कर्मचारी अभावमा बन्द भएको हो । औषधीको मुल्यमा ७ प्रतिशत रकम छुट दिने गरी ल्याइएको फार्मेसी बन्द भएपछि औषधोपचारका लागि जिल्ला अस्पतालमा आएका विरामीहरु औषधी लिनकै लागि नीजि क्लिनिकमा जान बाध्य भएका छन् ।

जिल्ला अस्पतालमा सुरक्षित प्रसुतिका लागि आएकी कुश्मा नगरपालिका १३ खौलालाँकुरीकी यमुना क्षेत्रीका पति यामबहादुर क्षेत्रीले अस्पताल भित्र औषधी कक्ष बन्द हुँदा आफु नीजि क्लिनीकमा धाउनुपरेको दुखेसो गर्नुभयो ‘अस्पताल भित्र फार्मेसी त छ, तर कहिल्यै खुल्दैन’ उहाँले भन्नुभयो ‘डाक्टरले लेखेको कागज (प्रिस्केप्सन) लिएर बाहिर दगुर्नुपर्छ’ उहाँ मात्रै होइन जिल्ला अस्पतालमा उपचार गर्न आउने सवै विरामीको अवस्था महिना दिन देखि यस्तै छ ।

यता पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले फार्मेसी छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले कर्मचारी छनोटका लागि सूचना प्रकाशन गरेर आवेदनको आह्वान गरिएको र एकसाता भित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो ।