नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्दै

0
Shares

काठमाडाैं । नेपालको भूमिमा रहेर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपालले अहिलेसम्म मापन गरेको थिएन । विश्वका मान्छेको आर्कषण रहेको उक्त सगरमाथाको उचाइ भारतले नापिदिएको र त्यसैलाई मान्दै आएकोमा अब नेपाल आफैँले सगरमाथाको उचाइ नाप्ने भएको छ । यसका लागि सरकारी तवरबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ । तर, सगरमाथाको उचाइ नाप्ने कुरा सामान्य भने छैन । त्यही असामान्यता बीच नापिँदै छ उचाइ ।

यसअघि सगरमाथाको सफल आरोहण गरिसकेका नापी विभागका एक अधिकारीले पहिलोपटक गर्न लागिएको सगरमाथा उचाइ मापन प्रावधिक टोलीको नेतृत्व गर्दैछन् । प्रमुख नापी अधिकृत खिमलाल गौतम सो कार्यका लागि अहिले प्राविधिक सहयोगी र शेर्पा आरोहीहरूसँगै सगरमाथा आधार शिविरमा रहेका छन् । उनी अहिले त्यही काममा पूर्ण रूपले लागेका छन् ।

अधिकारी सन् २०११ मा नेपाली कर्मचारी टोलीले गरेको सगरमाथा आरोहण दलमा पनि सामेल भएका थिए । त्यतिवेला पनि उनी कर्मचारीहरू मध्येबाट सबैभन्दा पहिले सर्वोच्च शिखरमा पाइला राख्न सफल भएको बताउँछन् । ३५ वर्षीय गौतमको जन्म हाल माछापुच्छ्रे गाउँपालिकामा पर्ने कास्कीको धिताल गाउँमा भएको थियो । उनी पुनः सगरमाथामा जाने कुराले अहिले उत्साही छन् ।

सगरमाथाको उचाइ मापन गर्ने ऐतिहासिक आरोहण अभियानअघि उनी यतिखेर सगरमाथा आधार शिविरमा अन्तिम तयारीमा व्यस्त छन् । उनले सगरमाथा नाप्ने अभियानका बारेमा भने, ‘म पूरै दत्तचित्त भएर यो अभियानमा लागेको छु । हामी अन्ततः सफल हुने छौँ भन्ने कुरामा विश्वस्त पनि छु ।’ उत्साही हुँदै उनले भने । उनको टोलीको नेतृत्व नेपाल पर्वतारोहण प्रतिष्ठानका पथप्रदर्शक छिरिङ जाङ्मु शेर्पाले गर्दैछन् ।

उच्च हिमाली वातावरणसँग अनुकूल हुनका लागि उक्त टोलीका सदस्यले एक चरण सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन् । अब उनीहरू आरोहणको लागि उपयुक्त मौसमको प्रतीक्षामा छन् । नेपालको इतिहासमा सगरमाथाको उचाइ नाप्न लागिएको यो पहिलोपटक हो । त्यसैले पनि यसलाई अति महत्वका साथ हेरिएको छ ।

यसपटक नेपाल सरकारले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी सगरमाथाको उचाइ नाप्दैछ । त्यसका लागि प्राविधिक टोलीले चुचुरोसम्मै पुगेर तथ्यांक संकलन गर्ने जनाएको छ । काम अत्यन्तै कठिन र महत्वपूर्ण छ।

उक्त सरकारी टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । केही आरोहण सहयोगी पनि टोलीमा सहभागी छन् । यी नै टोलीले उक्त काम सम्पन्न गर्ने छ र सगरमाथाको उचाइका बारेमा पछिल्लो तथ्यांक बाहिर ल्याउने छ ।

चार सरकारी कर्मचारीमध्ये गौतम र कार्की सगरमाथाको चुचुरोमै पुग्ने योजनामा छन् । उनी पुन सगरमाथाको चुचुरोमा जाने कुराले उत्साही पनि छन् । त्यसमा टोलीका सदस्यले ‘ग्लोबल न्याभिगेशन स्याटलाइट सिस्टम’ (जिएनएसएस) नाम उपकरण साथमा लानेछन् । जसको सहायताले सगरमाथाको उचाइको पछिल्लोपटक तथ्य बाहिर ल्याउने छ ।

उक्त उपकरणले सगरमाथाको चुचुरोमा भू–उपग्रहबाट पठाएका डेटा, तापक्रम, गुरूत्वाकर्षण, मौसमी तथ्यांक र आद्रतासम्बन्धी तथ्यांक संकलन गर्नेछ । सन् २०११ मा निजामती कर्मचारी आरोहण दलको सदस्यका रूपमा गौतमले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । उनले त्यति वेला गरेको आरोहणले पनि योपटक सहयोग पुग्ने बताक्एा छन् । यस्तै टोलीलाई सुरजसिंह भण्डारी र युवराज धितालले भने आधार शिविरमा बसेर उनीहरूलाई सहयोग गर्नेछन् ।

तयारीका क्रममा नापी विभागका प्रमुख नापी अधिकृत गौतम संयोजकत्वको चार सदस्यीय उचाइ मापन टोलीले ६,१८९ मिटर उचाइ अग्लो आइलन्ड पीक आरोहण गरिसकेको छ । नापी विभागले भारतको बंगला हँुदै नेपाली भूभाग सिराह जिल्लाको माडारलाई केन्द्रविन्दु मानेर सम्पर्क स्थापित गरेको छ ।

जिएनएसएस उपकरणको सहयोगमा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, भोजपुरलगायतका स्थानहरूमा विन्दुहरू कायम गरिएका छन् । एकीकृत तथ्यांक संकलनका लागि ती विन्दु कायम गरिएको विभागले जनाएको छ ।

भू–बनोट, सतह मापन, उचाइ मापन, आधार विन्दु कायम गर्ने, स्थलतगत अवलोकन गरी हालसम्म झन्डै तीन सयवटा विन्दु कायम गरिएको नापी विभागका प्रमुख सुशील डंगोलले बताए । ती सबै विन्दुको तथ्यांक नापी विभागमा एकीकृत गरी सगरमाथाको आधिकारिक उचाइ सार्वजानिक गरिने उनले बताए ।

उनका अनुसार सगरमाथालाई मध्य भागमा राखेर चारै दिशातर्फ नियन्त्रण विन्दुहरू समेत कायम गरिएका छन् । लेभल मशिन, जीएनएसएस मशिन, ग्य्राभिमिटर आदि उपकरणको प्रयोग गरेर तल्लो क्षेत्रको उचाइ मापन गरिएको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रको तथ्यांक संकलनको कार्य भइरहेको र झन्डै डेढ महिनाभित्र सबै विवरण संकलन हुने डंगोलले बताए ।

यसअघि सन् १९५४ मा भारतको नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । उसले सगरमाथाको उचाइ समुद्र सतहदेखि ८,८४८ मिटर भएको बताएको थियो । अहिलेसम्म विश्वभरि त्यो उचाइ नै मान्य हुँदै आएको छ । नेपाले पनि त्यसैको आधारमा सगरमाथमाको उचाइ ८,८४८ मिटर छ भन्दै आएको हो ।

त्यसपश्चात् पनि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका छन् । तर तिनले आधिकारिक मान्यता पाएका छैनन् । सगरमाथाको उचाइ नाप्ने कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी विभागले काम अघि बढाएको थियो । त्यसका आधारमा विभिन्न चरणमा काम भएका छन् ।

सतही मापनको ७० प्रतिशत कार्य सम्पन्न भएको डंगोलले बताए । उनले भने, ‘सगरमाथाको चुचुरोमा पुगेर जिएनएसएस डाटा संकलन र खुम्बु क्षेत्रका आठवटा स्थानको तथ्यांक लिने कार्य भइरहेको छ । यी कार्य पूरा भएपछि तथ्यांक एकीकृत गरेर रूजु गर्छौँ ।’ उनका अनुसार सगरमाथाको चुचुरोबाट जिएनएसएस उपकरणको डेटा आएमा आगामी पुस मसान्तभित्र परिणाम सार्वजानिक हुनेछ ।

विसं ०७२ सालको ठूलो भूकम्पपश्चात् सगरमाथाको उचाइ के भयो होला भन्ने चासो धेरैमा देखिएको छ । भूकम्पका कारण सगरमाथाको उचाइ घटेको चर्चा पनि केही समय अघि चलेको थियो । तर, त्यो चर्चामा कुनै सत्यता भने थिएन । सगरमाथाका बारेमा विभिन्न समयमा देखिएका चासोहरूलाई समेत अहिले हुने मापनले प्रष्ट पार्ने टोलीको विश्वास छ । (बिबिसिको सहयोगमा)