म्याग्दीका सात सामुदायिक वनमा पर्यापर्यटन   

0
Shares

गलेश्वर, हिमालका कारण पर्यटकीय जिल्लाको रुपमा परिचित म्याग्दीका वन क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्लाका सातवटा सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक वन क्षेत्रलाई पर्यापर्यटन क्षेत्रका रुपमा विकास गरी आम्दानी गर्ने, वनको कोष वृद्धि गर्ने तथा धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यापर्यटन कार्यक्रम लागू गरिएको हो ।

पर्यापर्यटन कार्यक्रम लागू भएका सामुदायिक वनमा बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित बगरफाँट सामुदायिक वन, बेनी–५ पुलाचौरको पौलस्त्य आश्रम गिठिनी सामुदायिक वन र पुला गाजने सामुदायिक वन तथा बेनी–६, अर्थुङ्गेको खैरेनी सामुदायिक वन रहेका छन् । यसैगरी धौलागिरि गाउँपालिका–३ मुनाको दहपातल सामुदायिक वन, मालिका–५ को भिरखर्क सामुदायिक वन र रघुगङ्गा–५ झीँको सिद्ध सामुदायिक वन उपभोक्ता समूह छनोट भएका डिभिजन वन कार्यालयले जनाएको छ ।

ती सामुदायिक वन उपभोक्ता समूहमार्फत् सामुदायिक वन क्षेत्रमा वनभोजस्थल निर्माण गर्ने, मठमन्दिर पुनःनिर्माण तथा मर्मत, मन्दिरको घेराबार एवं शौचालय निर्माण, पदमार्ग निर्माणजस्ता काम अगाडि बढाइएको छ । कार्यक्रमबाट प्रत्येक सामुदायिक वनलाई रु पाँच पाँच लाखका दरले अनुदान रकम उपलब्ध गराइएको छ भने त्यसमध्ये स्थानीयले २० प्रतिशत रकम बेहोनुपर्ने हुन्छ । प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा शौचालय निर्माण गरिएको छ भने घेराबार लगाउने कार्यक्रमसमेत रहेको छ ।

सामुदायिक वन क्षेत्रमा विभिन्न किसिमका संरचनाको निर्माण गरेर जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सातै सामुदायिक वनमध्ये बगरफाँट र अर्थुङ्गेको सामुदायिक वन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश सरकारबाट बजेट आएको छ । यसैगरी अन्य सामुदायिक वन क्षेत्रमा कार्यक्रमका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएको सहायक वन अधिकृत बल्छौडीको भनाइ छ ।

कार्यक्रममार्फत् वन्यजन्तु सफारी तथा अवलोकन, भ्यूटावर निर्माण, संस्कृतिको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक विकासमा टेवा पु¥याउन कार्यक्रम अगाडि सारिएको जनाइएको छ । सामुदायिक वन क्षेत्रभित्र भएका पुरातात्विक वस्तु, मठमन्दिरको संरक्षण र विकास गर्ने तथा हरियाली प्रवद्र्धन गरेर पर्यटक आगमन बढाउने र आयआर्जनसँग जोड्ने कार्यक्रमको उद्देश्य रहेको छ । सामुदायिक वन क्षेत्रमा जडीबुटीको समेत खेती गर्न सकिने सम्भावना रहेको छ ।

सामुदायिक वन क्षेत्रलाई स्थानीय बासिन्दासँग आर्थिक उपार्जनका हिसाबले जोड्ने गरी पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा पनि पर्यटकलाई पु¥याई उनीहरुबाट आर्थिक लाभ लिन पाउने भएपछि कार्यक्रम सञ्चालन गरिएका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता पनि खुशी भएका छन् ।

धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड    

हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाका विभिन्न ठाउँमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा घतानका विभिन्न स्थानमा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र जगन्नाथ–डढेकोट–ढोलठान राजदरबार–पुलहाश्रम र गलेश्वर मन्दिरको भ्रमणमा निस्किएका सरोकारवालाले यस्तो बताएका हुन् । विभिन्न सामाजिक क्षेत्र तथा सङ्घसंस्थामा आबद्ध व्यक्तित्वले धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउनुपर्नेमा उहाँहरुको जोड रहेको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा सहभागी पशुपति क्षेत्र विकास कोष काठमाडौँका सदस्य घनश्याम कोइरालाले धार्मिक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरपालिकामार्फत् नगर क्षेत्रमा भएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, प्रचारप्रसार र प्रवद्र्धनमा जोड दिएको बताउनुभयो ।

कार्यक्रमको अवसरमा प्रसिद्ध जगन्नाथ मन्दिरको दर्शन तथा डढेकोट दरबार भ्रमण गरिएको थियो । यसैगरी ढोलठानको राजदरबार, पौलस्त्य पुलहाश्रम र गलेश्वर मन्दिरमा पदाधिकारी तथा स्थानीयसँग भेटघाट गरी अन्तत्र्रिmया एवं छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले पनि धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका क्षेत्रमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

हिमालतिर यार्सा टिप्नेको लर्को    

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र मुदीका बासिन्दा आधा जीव र आधा वनस्पतिका रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छाडेर हिमालतर्फ उक्लेका छन् । गाउँबाट एक दिनको बाटो हिँडेर स्थानीय गुर्जा हिमालको आसपासका क्षेत्र र खर्कमा गएका गुर्जाबाट स्थानीय गोर्खा छन्त्यालले जानकारी दिनुभयो । छन्त्यालका अनुसार गुर्जा हिमाल आसपासका पुरानबुकी, नाउरे, थारखोला, बौरबास, दोथेवासलगायतका क्षेत्रमा स्थानीयले १० देखि १५ दिनसम्म बसेर यार्सा सङ्कलन गर्ने गर्छन् । गत मङ्सिरदेखि फागुन अन्तिम सातासम्म उच्च हिमाली क्षेत्रमा भएको हिमपातका कारण जमेको हिउँ पग्लेपछि स्थानीय यार्सा सङ्कलनका लागि हिमालतिर लागेका हुन् ।

यसपालि राम्रोसँग हिमपात भएको र यार्सा पाइने खर्कमा मानिस तथा जङ्गली जनावरको पनि ओहोरदोहोर नभएकाले विगतका वर्षमा भन्दा बढी यार्सा सङ्कलन गर्न सकिने अनुमान स्थानीयले गरेका छन् । छन्त्यालले दिएको जानकारीअनुसार गुर्जाबाट २३ जनाको एक समूह यार्सा सङ्कलनका लागि गएको छ ।

स्वदेश तथा विदेशमा राम्रो बजार रहेको यार्सा सङ्कलनमा पछिल्ला केही वर्षयता विद्यार्थीलाई रोक लगाइएको छ । अभिभावकसँगै विद्यार्थी पनि यार्सा सङ्कलनका लागि जाँदा गाउँमा रहेको सामुदायिक विद्यालयमा एक महीनासम्म पठनपाठन अवरुद्ध हुने गरेको थियो । वैशाखको दोस्रो सातादेखि जेठ महीनासम्म गुर्जा, मुदीलगायतका उच्च हिमाली क्षेत्रका बासिन्दा यार्सा सङ्कलनका लागि लेकमा जाने प्रचलन नै रहेको छ ।

जलवायु परिवर्तनका कारण पछिल्लो समय अपेक्षा गरेअनुसार यार्सा सङ्कलनमा समस्या हुने गरेको स्थानीयले बताए । गत वर्ष यार्सा पाइने क्षेत्र हुँदै सात हजार १९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणमा गएका पाँच जना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगीको हिमआँधीका कारण ज्यान गएको थियो । एक किलो यार्सामा तीन हजार ५०० देखि चार हजारसम्म बुटी हुने डिभिजन वन कार्यालयले जनाएको छ ।
रासस