एर्दोगानद्वारा चुनावमा संगठित अपराध भएको आरोप


इस्तानबुल, (एजेन्सी)
टर्कीको शहर इस्तानबुलको मेयरको चुनावमा संगठित अपराध र गम्भीर भ्रष्टाचारबाट प्रभावित रहेको मंगलबार तुर्केली राष्ट्रपति रिसेप तायिप एर्दोगानले बताएका छन्। एर्दोगानले ३१ मार्चको चुनावमा पुनः उठ्ने निर्णयको वकालत गर्ने क्रममा सो प्रतिक्रिया दिएका हुन्। सो चुनावमा विपक्षीले झिनो मत अन्तरले विजय हासिल गरेका थिए। आफ्नो काम गर्न नदिइएका विपक्षी उम्मेदवार एक्रेम इमामोग्लुले यस कदमलाई षड्यन्त्रकारीको संज्ञा दिएका छन्।

युरोपेली संसद्ले पनि ती मेयरलाई काम गर्न नदिने निर्णयले टर्कीको प्रजातान्त्रिक चुनावको विश्वसनीयता समाप्त पार्ने जनाएको छ। पुनः निर्वाचन हुनुपर्ने निर्णयविरुद्ध सोमबार टर्कीका विभिन्न स्थानमा विरोध प्रदर्शनको आयोजना गरिएको छ। सो चुनाव आगामी २३ जुनमा हुने बताइएको छ।

सयौं मानिसले थुप्रै जिल्लामा थाल र भाँडा ठटाउँदै सरकारविरोधी चर्का नाराहरू लगाएका थिए। टर्कीस्थित बीबीसीका पत्रकार मार्क लोबेनले विपक्षी राजनीतिक समूहले यस कदमलाई निर्वाचन निकायमाथि एर्दोगानको प्रत्यक्ष दबाबका रूपमा रहेको बताएका छन्।

अर्को चुनाव सम्पन्न नहुन्जेल इस्तानबुलका गभर्नर अली यर्लिकायालाई निमित्त मेयरको भूमिका निभाउन निर्देशन दिइएको छ। आफ्नो एके पार्टीको संसदीय बैठकमा बोल्दै एर्दोगानले राष्ट्रका लागि पुनः निर्वाचन उत्कृष्ट कदम रहेको बताएका छन्। सन् २००३ मा पहिलोपटक सत्तामा आएका एर्दोगानले अघिल्लो चुनावमा चोरहरूले राष्ट्रिय चहाना नै चोरेको तथा आफूहरूबाट जनताले यसबारे स्पष्टीकरण चाहेको पनि बताएका छन्।