१ नम्बर प्रदेशको नाम ‘किराँत’ राख्दा फरक नपर्ने


खोटाङ, (नेस)
किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले १ नम्बर प्रदेशको नाम ‘किराँत प्रदेश’ राख्दा कसैले आपत्ति मान्नुनपर्ने बताउनुभएको छ।
मंगलबार किराँत राई यायोक्खा खोटाङको आठौं जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले किराँत शब्दले नेपालको सभ्यता, भूगोल र युगलाई बुझाउने भएकाले प्रदेशको नामकरणमा कसैले डर वा आपत्ति मान्नुपर्ने कारण नभएको बताउनुभएको हो।

शुभम् फाउन्डेसनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राईले यायोक्खाले ‘राई’ नामकरण नमागेकाले पनि कोही–कसैले त्रास मान्नुपर्ने कारण नभएको स्पष्ट पार्दै थप्नुभयो– ‘किराँतलाई नेपालको सभ्यता, युग र भूगोलका रूपमा बुझिने भएकाले किराँत प्रदेश राख्दा त्रास मान्नुपर्दैन।’

उहाँले प्रदेशको नाम किराँत नभए कोशी किराँत वा सगरमाथा किराँत भए पनि स्वीकार्य हुने बताउनुभयो। तर, किराँत नसमेटिए प्रदेशको नामकरण मान्य नहुने उहाँको जिकिर थियो।
यस्तै यायोक्खाका केन्द्रीय सचिव अर्जुन जम्नेलीले प्रदेशको नामकरणका क्रममा यायोक्खाको माग सम्बोधनमा आशंका कायम रहेकाले आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले १ नम्बर प्रदेशको नाममा किराँत राखिनुपर्ने धारणा राखेका थिए। यायोक्खाको जिल्ला अधिवेशन आज बुधबार सकिँदै छ।