व्यापार युद्ध अन्त्यका लागि वार्ता

0
Shares

वासिङटन (एजेन्सी)
चीनसँग ब्यापार युद्ध अन्त्यका लागि वार्ता भइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १० बाट २ सय अर्ब डलरको चिनियाँ सामानमा भन्सार शुल्क १० प्रतिशतबाट बृद्धी गरी २५ प्रतिशत पुर्याउने जनाएको छ । ब्यापार संकट हटाउनका लागि भइरहेको वार्ता अत्यन्त ढिलो गतिमा अगाडी बढीरहेको अमेरिकाले जनाएको छ । राष्ट्रपति ट्रम्पले आइतबार ट्विटमा अतिरिक्त कर बढाउने उल्लेख गरेका थिए । उनले थप ३ खर्ब २५ अर्ब डलरको आयातमा पनि चाँदै २५ प्रतिशत शुल्क लगाउने धम्की दिए ।

चीनका उच्च स्तरिय प्रतिनिधिमन्डल ब्यापार वार्ताको सिलसिलामा बुधबार अमेरिका जाने कार्यक्रम थियो । तर ट्रम्पको धम्कीका कारण चीनले यसलाई रद्द गर्न सक्ने सन्चार माध्यमहरुले जनाएको छ ।

चीन १० महिनादेखि ५० अर्ब डलरको आयातमा २५ प्रतिशत र २ खर्ब डलरको आयातमा १० प्रतिशत अतिरिक्त शुल्क दिइरहेको ट्रम्पले बताए । चीनसँग ब्यापार वार्ता जारी रहेको तर यसको गति अत्यन्त ढिलो भएको उल्लेख गर्दे चीनले फेरीपनि लेनदेन खोजेको बताए ।

अमेरिका र चीनबीच गत बर्षदेखि मार्चमा ब्यापार युद्ध शुरु भएको थियो । दुई देशले एक अर्काको आयातमा अतिरिक्त कर लगाएका छन् । नोभेम्बरमा डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिंगबीच जी–२० मा भेटवार्तापछि ब्यापार युद्ध अन्त्यका लागि वार्ता शूरु गर्ने सहमति बनेको थियो । त्यतिबेला ट्रम्प मार्च सम्म भन्सार शुल्क नबढाउन सहमत भएका थिए । वार्ता जारी रहेकोले मार्चमा पुन त्यसको डेटलाइन बढाइएको थियो ।

अमेरिका चीनसँगको उसको ब्यापार घाटा कम होस् भन्ने चाहन्छ । गत बर्ष यो घाटा ३ खर्ब ७८ अर्ब ७३ लाख थियो । अमेरिकाले उसको उत्पादनलाई चिनियाँ बजारसम्मको पहुँच बढ्नु पर्ने र चीनमा अमेरिकी कम्पनीहरु माथि प्रविधी साझा गर्नु पर्ने दबाव अन्त्य हुनु पर्ने माग गर्दै आइरहेको छ ।