बी र सी डिभिजन क्लबलाई अनुदान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ
काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्लाभित्रका बी र सी डिभिजनका फुटबल क्लबलाई क्रमशः ३ र २ लाख अनुदान दिएको छ ।

अनुदान पाउने क्लबहरुमा बी डिभिजनका आरसीटी क्लब, ब्वाइज युनियन, टुसाल युवा क्लव, श्रीकुमारी युवा क्लब र बाँसबारी युवा क्लब गरी ५ टोली छन् । क्लबले लिग खेल्दा कमसेकम ६०÷७० लाख खर्च हुन्छ । तर महानगरपालिकाले थोरै मात्रै सहयोग गरेको छ ।

यसमा ब्वाइज युनियनका दिपेश राउतले नेपाल समाचारपत्रलाई बताउनुभयो—क्लबको धेरै रकम खर्च हुने भएपनि महानगरपालिकाले गरेको यो सहयोग राम्रो हो । थोरै भएपनि हामीले पायौं । यसलाई हामीले प्रोत्साहनको रुपमा हेरेका छौं । केही नहुने भन्दा केही पाउनु पनि ठिकै हो । भविष्यमा महानगरपालिकाले रकम बढाइदिन पनि सक्छ । महानगरपालिकाले फुटबललाई यति त माया गरेछ भन्ने पनि महसुस गर्न पाएका छौं ।

यस्तै सी डिभिजनका २÷२ लाख पाउने ७ टोलीमा सानो गौचरण क्लब, महाविर क्लब, समाज कल्याण खेलकुद क्लब, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु क्लब, मनोहर एकीकृत युवा क्लब र समाजिक युवा क्लब रहेका छन् ।
अनुदान रकम हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टिमले जित्दा मात्र आफुले पनि जित्ने र टीमले हार्दा आफूले पनि हार्ने भएकाले खेलाडीहरुले टीमले जित्ने गरी खेल्नु पर्ने भन्दै राजनीतिमा पनि त्यहि नियम लागु हुने बताउनुभयो ।

‘टीमले जित्दा मैले जित्छु, टीमले हार्दा मैले हार्छु भन्ने भावनाले काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘खेलमा जस्तै राजनीतिमा पनि त्यो नियम लागु हुुनुपर्छ । त्यो भयो भने मात्र राजनीतिले असल बाटो समात्न सक्छ । उहाँले आगामी दिन महानगरले खेलकुदको विकास र पूर्वाधारमा महानगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘यो हाम्रो सानो सहयोग हो,’ उहाँले भन्नुभयो, ‘देशमा मात्र होइन विदेशमा पनि नाम चम्काउने गरी खेल्नु होला । आगामी दिनमा हामी थप सहयोग गर्न तयार छौँ ।’

कार्यक्रममा बोल्दै उपमयेयर हरिप्रभा खड्कीले महिलाहरुको पनि खेलकुदको विकास गर्नुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पनि खेलकुदको विकासमा महानगर लाग्ने बताउनुभयो । एन्फाका अध्यक्ष कर्मा्छिरिङले महानगरपालिकाले खेलकुदको विकासमा गरेको सहयोगको खुलेर प्रसंशा गर्नुभयो ।

‘राष्ट्रको निकायले खेलकुदमा लगानी नगरेसम्म खेलकुदको विकास हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘खेलकुदको विकासमा काठमाडौँ महानगरपालिकाले राम्रो सुरुवात गरेको छ । यो सहयोग खेलकुदको इतिहासमा स्वर्ण अक्षरले लेखिन्छ ।’ उहाँले महानगरको सामाजिक विकासमा खेलको क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘महानगरले खेलकुद विकासका लागि पूर्वाधार विकासमा पनि हसयोग गरोस भन्ने हाम्रो अपेक्षा छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो तर्फबाट पनि सक्ने सहयोग महानगरपालिकालाई गर्छौ ।’

यस अघि महानगरभित्रका ए डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युवा क्लब, मच्छिन्द्र युवा क्लब र एनआरटीलाई काठमाडौँ महानगरपालिकाले १०–१० लाख अनुदान सहयोग गरेको थियो ।