उमेश बने मिस्टर हिमालय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए । अभरअल च्याम्पियन बन्ने क्रममा उमेशले विभिन्न ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच मिस्टर हिमालय उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो ।

५५ केजीमा पावर फिट्नेस एन्ड जिम, कोटेश्वरका किसनदास दिवाकर, ६० केजीमा नेपाल व्यायम मन्दिर, ज्याठाका डेविड बलामी, ६५ केजीमा नेपाल जिम एन्ड फिट्नेस, रुपन्देहीका श्री थापा मगर, ७० केजीमा नेपाली सेनाका रमेश कार्की र ७५ केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेस, ढल्कोका नरेश मालाकार पहिलो भएका थिए ।

उपाधिसंगै उमेशले २ लाख ५० हजार नगद पुरस्कार हात पारे । उमेशले आफ्नो तौलसमूहमा पहिलो भएवापत छुट्टै २५ हजार नगद पुरस्कार पनि हात पारे । अन्य तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।

पुरुष एथलेटिक्स फिजिकमा फिट्नेस प्लसका विश्वराम केसी पहिलो, डिभाइन फिजिकल एन्ड फिट्नेसका निशान्तमान प्रधान दोश्रो र ताहचल फिजिकल फिट्नेसका डम्बरसिंह मार्कन्ड तेश्रो भए । पुरुष जुनियर शारीरिक सुगठनमा ऐराहिटी फिट्नेस एन्ड जिमका कृष्ण महर्जन पहिलो, फिट्नेस स्टुडियोका राजु राई दोश्रो तथा डिभाइनका अंकितमान शाक्य तेश्रो बने ।

महिला एथलेटिक फिजिकमा व्यायम मन्दिरकी रजनी श्रेष्ठ पहिलो, डिभाइनकी सुजिता मानन्धर दोश्रो तथा पावर हाउसकी पूजा श्रेष्ठ तेश्रो स्थानमा रहे । चारै विधामा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाए । अर्को संस्करणदेखि मिस्टर हिमालय उपाधि विजेतालाई नगद ५ लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।