जाभीको संन्यास घोषणा


लन्डन, (एजेन्सी)
बार्सिलोनाका लिजेन्ड जाभी हर्नान्डेजले व्यावसायिक फुटबलबाट संन्यास घोषणा गरेका छन्।

३९ वर्षीय जाभीले बिहीबार औपचारिकरूपमा व्यावसायिक फुटबलबाट संन्यास घोषणा गरेका हुन्। बार्सिलोनाका पूर्वकप्तान जाभी सन् २०१५ मा बार्सिलोना छाडेर कतारी क्लबमा अनुबन्ध भएका थिए। हाल अल सदा क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका उनले यो सिजन आफ्नो अन्तिम सिजन हुने घोषणा गरेका हुन्।

जाभीले बार्सिलोनाका लागि सन् १९९८ देखि सन् २०१५ सम्म गरी १७ वर्ष बिताएका थिए। त्यस दौरान उनले ५ सय ५ म्याच खेल्दै ५८ गोल गरका थिए। उनले स्पेनको राष्ट्रिय टिमका लागि १ सय ३३ म्याच खेल्दै १३ गोल गरेका थिए। ३९ वर्षीय स्पेनिस खेलाडीले आफ्नो लामो खेल करिअर बिसाउने उचित समय यही रहेको बताए। जाभीले खेलाडीका रूपमा संन्यास लिएपछि प्रशिक्षकको करिअर शुरू गर्ने पनि बताएका छन्।