फाइनलमा च्यासल र सरस्वती भीड्दै


नेपाल समाचारपत्र
काठमाडौं
भागीय टोली नेपाल एपीएफ क्लबलाई २–१ ले पन्छाएर च्यासल युथ क्लब चन्द्रागिरि गोल्डकपको फाइनलमा सरस्वती युवा क्लबसँग उपाधि भिडन्त पक्का गरेको छ।

शुक्रबार नैकापको मैदानमा भएको खेलमा ललितपुरको टोली च्यासललाई जित दिलाउन दुवै गोल अर्मान्डले गरेका हुन्।

एपीएफतर्फ प्रदीप लामाले गोल फर्काएका थिए। निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २६औं मिनेटमा च्यासलले अर्मान्डको गोलबाट अग्रता लिएको थियो। कप्तान अमिर श्रेष्ठको चलाखीपूर्ण पासमा अर्मान्डले अफ साइड बिट ट्याप गर्दै हेडमार्फत गोल गरेका थिए।

तर, च्यासलको त्यो अग्रता लामो समय टिकेन। ३३औं मिनेटमा प्रदीपले एपीएफका लागि बराबरी गोल फर्काए। सन्तोष श्रेष्ठको क्रसमा प्रदीपको पहिलो प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले रोके पनि प्रदीपको दोस्रो प्रयास बाउन्स हुँदै गोलमा परिणत भएको थियो।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको अन्तिम समयमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को जित दिलाउँदै फाइनलमा पुर्याए। कप्तान अमिरको पासमा विपक्षी खेलाडीले अफ साइड भनेर छोडेको बललाई अर्मान्डले गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत शनिबार दीपशिखा युवा समूहको महिला फुटबल टोली र प्रदेश–३ को महिला फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएको छ।