हुवावे सूचना चुहावट रक्षा मन्त्री विलियमसन बर्खास्त


लन्डन, (एजेन्सी)
चिनियाँ टेलिकम कम्पनी हुवावेसँग जोडिएको फैसलाका विषयमा समाचार चुहावट गरेको घटनालाई लिएर बेलायतकी प्रधानमन्त्री टेरिजा मेले रक्षा मन्त्री तथा क्याबिनेट सदस्य गेविन विलियमसनलाई बुधबार बर्खास्त गरेकी छिन्।

उनीविरुद्ध बेलायतको नेसनल सेक्युरिटी काउन्सिलको बैठकमा भएका निर्णय बाहिर ल्याएको आरोप लगाइएको छ। गत अप्रिल २३ मा उक्त काउन्सिलको बैठक भएको थियो।

टेलिग्राफ अखबारले ५जी नेटवर्क तयार गर्न बेलायत सरकारले सीमित इलाकामा हुवावेको मद्दत लिने तयारी गरिहेको समाचार प्रकाशित गरेको थियो। सरकारले उक्त खबर कसरी चुहावट भयो भन्ने विषयमा जाँच गराइएको थियो। प्रधानमन्त्री मेले बुधबार विलियमसनसँग रक्षामन्त्री तथा क्याबिनेट सदस्यका रूपमा सरकारलाई उनीमाथि विश्वास नभएको जानकारी गराएकी थिइन्।

विलियमसनले सूचना चुहावट गरेको आरोपलाई अस्वीकार गरेका छन्। बुधबार राती ट्विटरमा एक पत्र पोस्ट गरी उनले जाँचमा आफू आरोपमुक्त हुने विश्वास गरेको उल्लेख गरेका छन्। राजीनामा दिन प्रधानमन्त्रीको दबाबलाई आफूले अस्वीकार गरेको उनले बताए। किनभने राजीनामाले आफूमाथि लागेको आरोप सही भएको पक्ष बलियो हुने उनले बताए।

अमेरिकासहित कयौं देशले हुवावेका उपकरण चीन सरकार जासुसीका लागि प्रयोग गर्न सक्ने आरोप लगाउँदै आइरहेकोले हुवावेसँग सम्बन्धित टेलिग्राफको समाचारले विवाद निम्त्याएको छ।
हुवावे विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता कम्पनी हो। उसले जासुसीसँग जोडेको आरोपलाई लगातार गलत बताउँदै आइरहेको छ। बेलायतलाई आफ्नो उत्पादन सुरक्षित भएको विश्वास दिलाउन हुवावेलाई धेरै मेहनत गर्नुपरेको थियो।

अस्ट्रेलियाले आफ्नो ५जी नेटवर्कमा हुवावेका उपकरण प्रयोगमा रोक लगाइसकेको छ। विलियमसनको निष्काशनपछि महिला तथा समानता मन्त्री पेनी मोरडन्टलाई रक्षा सचिव बनाइएको छ। उनी बेलायतको पहिलो महिला रक्षा सचिव भएकी छिन्।