टाइटानिक जहाजको ब्रान्डी राख्ने भाँडो लिलाम

0
Shares

लन्डन, (एजेन्सी)
विश्व चर्चित टाइटानिक जहाज डुब्नु केही समयअघि पहिलो श्रेणीका एक यात्रुलाई दिइएको चाँदीले बनेको ब्रान्डी राख्ने भाँडो ७६ हजार पाउन्डमा लिलाम भएको छ।

हेलेन चर्चिल क्यान्डी नामक महिलाले जहाज डुब्नुअघि एडवर्ड केन्ट नामक एक पुरुषलाई आफ्नो परिवारको कहावत ‘विश्वासिलो तर अभागी’ लेखिएको त्यो भाँडो दिएकी थिइन्। उनले आफ्नो साथी एडवर्डलाई ‘मभन्दा तिमी बाँच्ने सम्भावना धेरै देख्दै छु’ भन्दै सो भाँडो दिएकी थिइन्।

तर सो भयावह जहाज दुर्घटनामा चर्चिल क्यान्डी बाँचिन् भने केन्टले अन्य १ हजार ५ सय मानिससँगै ज्यान गुमाए। उनको शवसँगै यो चाँदीको भाँडो पनि भेटाइएको हो। टाइटानिककै तेस्रो श्रेणीका एक यात्रुले लेखेको पोस्टकार्ड ‘ह्यान्डस एक्रस दि सि’ पनि लिलाममा ३८ हजार पाउन्डमा बिक्री भएको छ।
साउथाम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको एक साता लामो यात्राको क्रममा चौथो दिन अर्थात् १९१२ को १४ अप्रिलमा विशाल हिउँमा ठोकिँदा आरएमएस टाइटानिक जहाज डुबेको हो।
जहाज ठोकिएको तीन घण्टाभन्दा छोटो समयमा १५ अप्रिलको बिहान करिब २ बजेर २० मिनेट जाँदा सो जहाजले महासागरमा समाधिस्थ भएको थियो। कुच्चिएको चाँदीको भाँडो बेलायतको विल्टसायरस्थित हेनरी एल्ड्रिज एन्ड सन इन डेभाइजेजमा लिलाम भएको हो।

लिलामकर्ता एन्ड्रयु एल्ड्रिजले आफूले सो भाँडो ६० देखि ८० हजार पाउन्डमा बिक्री हुने अनुमान गरेको बताएका छन्। कुनै समय यस दुर्घटनामा जीवित रहन सफल यात्रु मार्गारेट डभानी नामक महिलाको बताइएको टाइटानिक लाइफबोट ४५ हजार र जहाजको स्टेवार्ड रिचर्ड गेडेले लेखेको पत्र १५ पाउन्डमा लिलाम भएका छन्।