‘कांग्रेस नसुध्रिए अझै पराजय’: डा. शेखर कोईराला


मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले नेपाली कांग्रेस आफ्नै कारण पराजय भएको बताउनु भएको छ । ‘अझै पराजय हुने सम्भावना छ, समयमै संघीयता अनुसारको संरचना निर्माण गर्नुस’–डा. शेखर कोईरालाले भन्नुभयो ।

प्रेस युनियन काभ्रे शाखाको छैटौ जिल्ला अधिबेशनको उद्घाटन सभामा बोल्दै डा. कोईरालाले संविधान जारी भएको यति लामो समय भईसक्दा पनि नेपाली कांग्रेसले संविधान अनुसारका संरचना निर्माण नगरेको भन्दै कांग्रेस नेतृत्वको आलोचना गर्नु भयो ।

‘अधिबेशन कहिले हुन्छ ? कांग्रेस अधिबेशन नगर्दा कमजोर भएको छ, भार्त संगठनहरु लथालिङ्ग भएका छन्, प्रदेश कमिटी बनेको छैन, नयाँं संरचना अनुसार स्थानीय तह तथा क्षेत्रिय कमिटीहरु बनेका छैनन’–उहाँले भन्नु भयो–‘अझै अधिबेशन नगर्ने हो भने आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस अन्र्तद्वन्द्वकै कारण कम परिणाम प्राप्त गर्नेछ ।’ डा. शेखर कोईरालाले भातृ संगठनहरु सबैको समयमै अधिबेशन गरी संगठन र पार्टीलाई कृयाशिल बनाउन आग्रह गर्नु भएको थियो ।

‘कांग्रेसलाई कृयाशिल बनाउने हो भने समयमै अधिबेशन गर्नु पर्छ’–उहाँले भन्नुभयो–‘तदर्थबादमा कांग्रेस चल्न सक्दैन, ब्यक्ति बलियो होईन संस्था बलियो बनाउनु पर्छ ।’ कांग्रेसलाई उर्जाशिल बनाउन वडा तह देखि सक्रिय बनाउँदै ल्याउन उहाँले अनुरोध गर्नु भयो । प्रेस स्वतन्तत्रा दिवसको अवसरमा पारी आयोजित अधिबेशनमा डा. शेखर कोईरालाले पत्रकारहरुकै पक्राउ तथा मुद्दाहरु चलिरहँदा प्रेस युनियन बोल्न नसकेको भन्दै आलोचना गर्नु भयो । तत्कालिन राजा महेन्द्रको पालामा जस्तै अहिले प्रेस नियन्त्रित हुन खोजेको भन्दै कोईरालाले प्रेस स्वतन्त्र विरोधी हुन नहुने बताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव हुमागाईले मुलुकमा अराजकता बढेको र कानुनी शासन नभएको उल्लेख गर्र्दै अधिनायकबादको अभ्यास भईरहेको बताउनु भयो । प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले प्रेसलाई अंकुश लगाउने कार्य सबै तिरबाट रोकिनु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले स्वतन्त्र प्रेसका लागि कसैसँग सम्झौता नहुने बताउनु भयो । दर्जन भन्दा धेरै नेताहरुले शुभकामना दिएको उक्त सभामा जिल्ला अध्यक्ष कपिल कोईराला, उपाध्यक्ष नगेन्द्र अधिकारी, सचिव मधुसुदन तिमल्सिना लगायतले संस्थागत नेतृत्व ब्यवसायिक हुनु पर्ने बताए । अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।