नेपाली सेनाले बनायो सार्वजनिक शौचालय


धनवीर दाहाल, रुकुम
नेपाली सेनाको नरसिंह दल गणले रुकुम पश्चिमको एक सार्वजनिक स्थलमा शौचालय निर्माण गरेको छ । मुख्य व्यापारिक क्षेत्र शितलपोखरीमा सार्वजनिक शौचालयको निर्माण गरेको हो ।

मुसिकोट नगरपालिका वडा नं ४ स्थित शितलपोखरीमा अत्यधिक मान्छेहरुको भिड हुने तर सोही ठाँउमा शौचालयको व्यवस्था नहुँदा समस्या भएको थियो ।

रुकुम पुर्वको रुकुमकोट लगाएतको पुर्व क्षेत्र, पश्चिमको चौरजहारी लगाएतको क्षेत्र र दक्षिणको सल्यान, दाङ लगाएतका ठाँउबाट यातायातको साधन आएर रोकिने ठाँउ भएकोले पनि यात्रुहरुको सहजका लागी सार्वजनिक शौचालय निर्माण गरिदिएको नरसिंह दल गणका गणपति प्रमुख सेनानी दिनेश गौतमले बताउनुभयो ।

२ लाख ५० हजार मुसिकोट नगरपालिकाको सामाग्री खरिद तथा बाँकी नेपाली सेनाको श्रमबाट करिव ७ लाख ५० हजार बराबरको लगानीमा सार्वजनिक शौचालय तयार भएको मुसिकोट नगरपालिकाका इन्जिनियर घनश्याम शर्माले बताउनुभयो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली सेनाको उत्तर पश्चिम पृतना सुर्खेतका पृतना पति उपरथि सरोजप्रताप रानाले मुसिकोट नगरपालिका ४ का वडा अध्यक्ष निर्मलकुमार पुनलाई शौचालय हस्तानतरण गर्नुभएको छ । सार्वजनिक शौचालय निर्माण भएपछि सर्वसाधारणलाई सहज भएको छ ।