थ्रीस्टारलाई हराएर आर्मी फाइनलमा

0
Shares

काँकडभिटा, (नेस)
त्रिभुवन आर्मी क्लब काँकडभिटामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको फाइनलमा पुगेको छ । बिहीबार आर्मीले थ्री स्टार क्लबलाई ३–२ गोल अन्तरले कठिन स्थितिमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्ने छ ।

खेलको २८ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेर आर्मीलाई अग्रता दिलाएका थिए । सुमन अर्यालको क्रसमा श्रेष्ठले हेडमार्फत पोष्टको दिशा दिएका थिए । श्रेष्ठले नै ३९ औ मिनेटमा अर्काे गोल थपेका थिए । अर्यालकै पासमा वान भर्सेस वान खेल्दै श्रेष्ठले उत्कृष्ट गोल गरेका थिए । तर पहिलो हाफको अन्त्यतिर थ्री स्टारका लागि एलोन म्याक्सवेलले गोल गरेर गोलअन्तर २–१ मा खुम्च्याए । अनन्त तामाङको पासमा म्याक्सवेलको गोल गरेका थिए ।

यस्तै दोस्रो हाफमा पनि म्याक्सवेलले नै गोल थपेर खेल बराबरीमा ल्याएका थिए । उनले ५४ औ मिनेटमा सुनिल बलको पासलाई सदुपयोग गरेपछि खेल २–२ बराबरीमा पुगेको थियो । तर आर्मीले यो स्थितिलाई धेरै बेर रहन दिएन । बराबरी गरेको ७ मिनेट बित्न नपाउँदै आर्मीले ३–२ को अग्रता कायम गरेको थियो । दीपकुमार लामाले सेसेहाङ आङदेम्बेको पासमा गोल गरेका थिए । यो टोलीका लागि विजयी गोल सावित भएको थियो ।

खेल अवधिभर आर्मीले बिपक्षीमाथि दवाव श्रृजना गरेको थियो । आङदेम्बेले खेलको तेस्रो मिनेटमा डि एरियामा पाएको पासलाई सदुपयोग गर्न सकेनन् । १७ औ मिटमा जितेन्द्र कार्कीले मैदानको मध्यभागबाट गरेको शशक्त प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ४९ औं मिनेटमा नवयुगको हेडर प्रहार गोल हुन सकेन ।

१७ औं मिनेटमा थ्री स्टारका म्याक्सवेलको प्रहार पोष्टमा लागेर फर्कियो । २७ औ मिनेटमा बिदेशी खेलाडी मन्साको फ्रि हेडर फितलो हुँदा आर्मीका गोलरक्षक बिवस चौधरीले नियन्त्रणमा लिए । ३२ औं मिनेटमा आर्मीका गोलरक्षक चौधरी बीट भइसकेको अवस्थामा सुशिल राईले गरेको हेडरलाई आर्मीका दिपक गुरुङले गोललाइनबाट जोगाए । खेलको म्यान अफ द म्याच बिजेता टीम त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।