हिम पहिरोमा परि घाईते भएकालाई हेलिकोप्टर मार्फत उद्धार


धनवीर दाहाल, रुकुम ।

हिमपहिरोमा परेर घाइते भएका एक युवाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा(९, खाराबाङका १७ वर्षीय सुजन खड्कालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार आफ्नै गाउँबाट डोल्पाको दुनै जाने क्रममा पुथाउत्तरगंगा गाउँपालिका ९, लालपपाटनको हिउँसाङ नजिकै हिमपहिरोमा परेर खड्का घाइते भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको पहलमा उनलाई बिहीबार उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो ।

खड्कासँगै गएका अर्का एकजनाले हिमपहिरो स्थलबाट झण्डै ८ घण्टा हिँडेर उनको अवस्थाबारे गाउँलेलाई जानकारी गराएका थिए । स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेलगत्तै हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

खड्काको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ । घटनास्थल रुकुमकोटबाट झण्डै ३ दिनको पैदल दूरीमा पर्दछ ।