नयाँ शक्ति र फोरम नेपालबीच २३ गते एकता गर्ने तयारी


नेपाल समाचारपत्र, काठमाडौँ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकताको तयारी अन्तिम चरणमा पुगेको छ । यी दुई पार्टीबीच वैशाख २३ गते पार्टी एकता गर्नेगरि तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुवै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरेको छ ।

अघिल्लो पटक अन्तिम चरणमा आएर यी दुई पार्टी एकता प्रक्रिया भाँडिएको थियो । संघीय परिषद्को अध्यक्षता भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको छ ।