मजदूरका बालबालिकालाई शैक्षिक सामग्री


लहान ।
सरकारले शुरु गरेको विद्यालय भर्ना अभियानलाई सहयोग पुग्ने उद्देश्यले सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्रका ८५ मजदूरका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सवरी सङ्कल्प समाज गोलबजारले आज मजदूरका बालबालिकालाई शैक्षिक सामग्री वितरण वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरण तथा प्रोत्साहन कार्यक्रममा गोलबजार नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत ८५ जनाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको सवरी सङ्कल्प समाजका उपाध्यक्ष अरुण सदाले जानकारी दिनुभयो । विद्यालय बाहिर रहेका मजदूरका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी विद्यालयमा भर्नाप्रति आकर्षित गराउने र पठनपाठनमा सहजता ल्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको उपाध्यक्ष सदाले बताउनुभयो । कार्यक्रममा मुसहर समुदायबाट पहिलो डाक्टर बन्नुभएका दिलीप सदा, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गोविन्द विष्ट, सो वडाका वडासदस्य रामबाबु साहलगायतले संयुक्तरुपमा शैक्षिक सामग्र्री वितरण गर्नुभयो ।
रासस