सिलाई मेशिन वितरण तथा सामुदायिक भवन शिलान्यास


स्याङजा ।
वालिङ नगरपालिका १४ बैरेस्थित दलित बस्तीमा सोमबार सिलाई मेशिन वितरण तथा सामुदायिक भवनको शिलान्यास गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३६ जनालाई सिलाई मेशिन वितरण तथा सामुदायिक भवनको शिलान्यास नगर प्रमुख दिलीपप्रताप खाँणले गर्नुभएको हो ।

सिलाई मेशिन वितरण तथा भवन शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख खाँणले नगरपालिकाले दिने बजेटमा कुनै कञ्जुस्याँई नहुने, विना पूर्वाग्रह, विना पक्षपात तवरबाट विकास निर्माण गर्नेमा जोड दिनुभयो । “नगरपालिकाले विकासका लागि रकम विनियोजन गर्छ तर त्यसको सही सदुपयोग हुनु आवश्यक छ” नगर प्रमुख खाँणले भन्नुभयो, “योजना समयमा नसक्ने, रकमको अपारदर्शिता देखियो भने पुनः सोही योजनामा रकम थप गर्न सकिंदैन, पारदर्शितामा विशेष ख्याल गर्नुहोस् ।”

औद्योगिक क्षेत्र र कृषि क्याम्पस स्थापना गर्नका लागि पहल भई रहेकाले उपयुक्त हुने जग्गा ब्यवस्थापनका लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो । “सिलाई मेशिनको सही सदुपयोग गरी सीप सिक्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “सिकेको सीपलाई ब्यबहारमा उतारी आर्थिक लाभ गर्नुहोस् ।”

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले आँफूमा भएको सीपको सही सदुपयोग गरी समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले विना विभेद न्याय संगत तबरबाट विकास निर्माणका योजनाहरु ल्याउने बताउँदै अहिले छुटेका समुदायहरुमा पुनः यस प्रकारका कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा नं. १४ का वडा सदस्य गमप्रसाद लुईटेल, समाजसेवी सूर्य खनाल, खेमबहादुर पराजुली, बोधराज कुँवर, गरीबसँग विश्वेश्वर कार्यक्रम मुल समिति अध्यक्ष रुपा डुम्रे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । बैरे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनसुवा परियारको स्वागतसँगै शुरु भएको कार्यक्रम वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सीता गैह्रेले गर्नुभएको थियो ।

भवन वालिङ नगरपालिकाबाट अनुदान १५ लाख र जनसहभागिताबाट एक लाख ६५ हजार ४९३ गरी कूल १६ लाख ५४ हजार ९३७ को लागतमा आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।