मृतक परिवारलाई साढे ११ लाख क्षतिपूर्ति


हेटौंडा ।
खोलामा डुबेर मृत्यु भएकी मनहरी गाउँपालिका–७, लामाबस्तीकी सिर्जना मुक्तानको परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।
राक्सिराङ गाउँपालिकाले ठेक्का प्रक्रियाद्वारा मनहरी खोलाको नदीजन्य बस्तु उत्खनन् गर्दा बनेको दहमा परेर बुधवार दिउँसो मुक्तानको ज्यान गएको थियो । ज्यान गएपछि आक्रोशित आफन्त र परिवारले राजमार्ग बन्दसँगै दोषीमाथि कारबाही तथा क्षतिपूर्ति माग गरेका थिए ।
सोहीअनुसार इलाका प्रहरी कार्यालय मनहरीमा भएको छलफलमा मृतक परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिइने, बगरका खाल्डाखुल्डी पुर्ने र वातावरणीय प्रभाव मूल्यांकनका आधारमा मात्र उत्खनन् गर्ने सहमति भएको हो । सहमतिमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लसहित पीडित र ठेकेदार पक्षले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत् १३ वर्षीया मुक्तानको प्याङ्चेभन्दा मुनि मनहरी खोलाले बगाएर मृत्यु भएको थियो । उनी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत् थिइन् ।

गिटी, बालुवा उत्खनन्का लागि एक्साभेटरले खाल्डो खनेको स्थानबाट बगेको पानीमा डुब्दा मुक्तानको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

पौडी खेल्न गएका चार जना साथीमध्ये १ जना हराएपछि साथीहरुले मुक्तानको घरमा खबर गरेका थिए । अभिभावक, प्रहरी र स्थानीय मिलेर जमेको पानी निकास निकाली खोज्दा सिर्जनाको शव भेटिएको थियो ।