वडाध्यक्षले रोकिदीए बाल विवाह


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बेहुली लिनका लागि आएको ‘बेहुला’ लाई फर्काएर जिल्लास्थित एक वडाध्यक्षले बालबिबाह हुनबाट एक बालिकालाई जोगाएका छन् । बलेफी गाउँपालिका ४ स्थित रोक्काटोलमा स्थानीय सेतिदेवी माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत १५ वर्षिया सपना (नाम परीवर्तन) लाई ललाई फकाई बेहुली बनाएर लैजान लागेको अवस्थामा काभ्रेपलाञ्चोक ढाँडखर्कका १९ वर्षिय राजु सार्की(नाम परीवर्तन)लाई फर्काइएको हो । ढाँडखर्क निनवासी राजु शनिवार बेहुली लिनका लागि अभिभावक र आफन्तसहित बलेफी ४ स्थित रोक्काटोलमा बालिकाको घरमा आएका थिए ।

छिमेकीबाट बालबिबाहको सूचना पाएपछि ततकालै बालिकाको घरमा पुगेर स्थानीय अगुवा, संघसंस्थाका प्रतिनीधि र शिक्षकहरुको रोहबरमा बालबिबाह रोक्न सफल भएको वडाध्यक्ष कालीप्रसाद तामाङले बताउनुभयो । ‘ललाईफकाई बेहुली बनाएर लैजान लागेको थाहा पाएपछि हामी बालिकाको घरैमा पुरेर रोक्यौं’, वडाध्यक्ष तामाङले भन्नुभयो । वडाध्यक्षको नेतृत्वमा गएको टोलीले केटापक्षलाई विवाहको प्रक्रिया अघि नबढाउने सहमति गराएर फर्काएको छ । सपनाको पालनपोषण गर्दै पढाउने र उमेर पुगेपछि मात्र विवाह गरिदिनेमा उनको परिवार पनि सहमत भएको छ ।