चुनावमा गरिएका प्रतिवद्धता पुरा गर्न भूमि व्यवस्था आयोग गठन गर्न प्रदेश सरकारसंग माग


यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर पाँचको विहिवार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य भोज प्रसादश्रेष्ठले भुमि व्यवस्थापन तथा भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि भुमि व्यवस्थापन आयोग गठन गर्न प्रदेश सरकार समक्ष माग गर्नु भयो । उहाँले प्रदेशसभाको चालु तेस्रो अधिबेशनबाटै भुमि व्यवस्थापन आयोग गठन गर्न प्रदेश सरकार समक्ष माग गर्नु भयो ।

प्रदेशसभामा पटक÷पटक आवाज उठे पनि प्रदेश सरकारले त्यस बिषयमा अहिले सम्म कुनै जवाफ नदिएको उहाँले गुनासो गर्नु भयो ।

चुनावमा भुमिहीन–सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउदै उहाँले तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिनु भयो । सुशासन बीना मुलुक समद्ध बन्न नसक्ने भन्दै प्रदेशसभा सदस्य श्रेष्ठले सुशासन कायम गर्ने तर्फ सरकारको ध्यान जान नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो ।

विशेष समयमा वोल्दै प्रदेशसभा सदस्य अम्मरबहादुर डाँगीले किसान तथा आम जनताको जिवनस्तरमा सुधार आउन नसकेको भन्दै जनताको जिवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमहरु अगाडी बढाउन माग गर्नु भयो ।

दाङ जिल्लामा भू–माफियाहरु र भुमिसुधार कार्यालयको मिलेमतोमा जनताका जग्गा हडपेर घरबार बिहिन बनाउने कार्य भैरहेको भन्दै त्यसको उचित छानबिन गरी दोषि उपर कारर्बाही गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

जग्गामा मोहीयानी हक लाग्ने प्राबधान हटिसके पनि भू माफीयाहरुले भूमिसुधार कार्यालयका कर्मचारीहरुसँगको मिलेमतोमा हालसम्म पनि दाङमा जग्गाधनीलाई थाहानै नदिई मोही कायम गर्ने कार्य भैरहेको भन्दै उहाँले त्यस बिषयमा छानबिन गरी त्यस्तो कार्यमा संलग्नहरुलाई कारर्बाही गर्न माग गर्नु भयो ।

प्रदेशसभामा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले प्रदेशसभा सदस्यहरुको भुमिकालाई नीति नियम बनाउनेमा मात्रै सिमित गर्न खोजिएको भन्दै आफु निर्वािचत क्षेत्रको बिकास निर्माणमा स्थानीय तहहरुले प्रदेश सांसदहरुसँग समन्वय र सल्लाह लिदा स्थानीय तहको भुमिकामा कुनै हस्तक्षेप नहुने धारणा राख्नु भयोे ।

प्रदेशसभाको विहिवारको बैठकले प्रदेश नं ५, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारीत गरेको छ ।

त्यसैगरी बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले प्रदेश लोक सेवा आयोगको गठन,काम,कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहीतको विधेयक र गाउँ सभा÷नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहीतको विधेयक पेश गर्नु भयो ।

बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले यस अघीका प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिर्नु भएको थियो ।

यही बैशाख २२ गते दिउसो १ बजे प्रदेशसभाको अर्को बैठक बस्नेभएको छ ।