कञ्चनपुर–कैलालीमा औलो अझै बढ्दै, दार्चुलामा शून्य


मनोज भट्ट, महेन्द्रनगर ।

सुदूरपश्चिम प्रदेशमा औलो रोग बिकराल बन्दै गएको छ । तुलनात्मक रुपमा देशका अन्य प्रदेश भन्दा सुदूरपश्चिम प्रदेशमा औलो रोगका बिरामीको संख्या बढि रहेको पाइएको छ ।

दुई तराई, पाँच पहाडी र दुई हिमाली जिल्ला गरी नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा समेत औलोका बिरामी भेटिन थालेका छन् ।

तराईका जिल्लामा मात्र देखिने गरेको औलो हाल आएर पहाडी तथा हिमाली जिल्लामा समेत देखिन थालेको छ । जसले गर्दा सुदूरपश्चिम प्रदेशमा औलो रोग बिकराल तथा महामारीको रुप लिन थालेको छ ।

देशभरको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा मात्रै ५ सय ८६ जना औलो रोगका बिरामी भेटिएका छन् । जुन अन्य प्रदेश भन्दा दोब्बरभन्दा बढि हुन आउछ ।

आर्थिक बर्ष २०७४/०७४ को तथ्याङ्क अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा कम २४ जना, प्रदेश नम्बर २ मा ६६ जना, प्रदेश नम्बर ३ मा २६ जना, गण्डकी प्रदेशमा ३६ जना, प्रदेश नम्बर ५ मा २३९ र कर्णाली प्रदेशमा २१० जना औलो रोगका बिरामी भेटिएका छन् ।

सुदूरपश्चिमका ३१ वटा वडा औलाको उच्च जोखिममा छन् भने ९१ वडा मध्यम जोखिम रहेका छन् । सन् २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिबिधि भए पनि औलोको जोखिम कायमै रहेको छ । विदेशबाट फर्कने नेपालीहरुमा औलोको संक्रमण बढि देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाए ।

कञ्चनपुर–कैलालीमा बढि, दार्चुलामा शून्य

आर्थिक बर्ष २०७४/०७५ को तथ्याङक अनुसार सुदूरपश्चिम प्रदेशका तराई भेगका जिल्लामा औलो रोग बढि देखिन्छ । उपलब्ध तथ्याङ्क अनुसार कञ्चनपुर र कैलालीमा औलो रोगका बिरामीका संख्या, पहाडी र हिमाली जिल्लाको योगफल भन्दा दोब्बर देखिन्छ ।

कञ्चनपुरमा १३७ जना, कैलालीमा २९९ जना, डडेल्धुरामा २० जना, डोटीमा १ जना, अछाममा ३२ जना, बझाङमा २ जना र बाजुरामा ६० जना बिरामी भेटिएका छन् भने दार्चुलामा एक जना पनि बिरामी नभेटिएको तथ्याङक छ ।