बगदादीको भिडियो सार्वजनिक, श्रीलंका विस्फोट बगौजाको बदला भएको जिकिर

0
Shares

बग्दाद (एजेन्सी)
अन्तराष्ट्रिय इस्लामिक कट्टरपन्थी संगठन आईएसका नेता अबु बकर अल बगदादीको पाँच बर्षपछि पहिलो भिडियो सन्देश बाहिर आएको छ । यस भिडियोसँगै उनी जीवित रहेको अनुमान गर्न थालिएको छ ।

सोमबार आईएसद्वारा जारी गरिएको उक्त भिडियोमा बगदादीलाई देखाइएको छ । तर उक्त भिडियो कहिले खिचिएको हो भन्ने स्पष्ट छैन । त्यसबाहेक आईएसका नेताको एक अडियो पनि बाहिर आएको छ ,जसमा उनले अप्रिल २१ मा श्रीलंकामा भएको विस्फोटलाई आईएसको अन्तिम गढ बगौजमा मारिएका जिहादीको बदला भएको बताएका छन् । श्रीलंकामा भएको उक्त विस्फोटमा २ सय ५३ भन्दा बढीको मृत्यु भएको थियो ।

१८ मिनेट को यो भिडियो आईएसको अल फुकरान सन्चार सन्जालले जारी गरेको हो । त्यसलाई सोमबार अलजजिरा च्यानलले पनि प्रशारण गरेको थियो । यसमा बगदादी बाक्लो घना दाढीमा देखिएको र अरु तीन जनालाई सम्बोधन गरिरहेको थियो । उनीहरुको अनुहार भने प्रष्ट छैन । सम्बोधनमा बगदादीले सिरियामा आईएसको अन्तिम गढ बगौज लडाईको उल्लेख गरेका छन् ।

भिडियोमा बगदालीले अहिले त्यो लडाई समाप्त भइसकेको बताएका छन् । त्यसपछि अरु युद्ध आउने तयारीमा रहेको र त्यो शत्रु विरुद्ध अन्त्यसम्म जारी रहने बताए ।

बगदादी अन्तिम पटक सन् २०१४ मा एक मस्जिदमा देखिएका थिए । त्यतिबेला भाषण दिँदै गरेको र त्यसमा उनले आफुलाई इराक र सिरियाको खलिफा घाषित गरेका थिए ा इराक– सिरियामा अमेरिका र उसका सहयोगी सेनाले आईएसका लडाकुहरुसँग लामो लडाई लडे । गत महिना अमेरिकी सेनाले आईएसको अन्तिम गढ बगौजाबाट आईएस लडाकुमाथि जित हासिल गरेको दावी गरेको थियो । संयुक्त सेनाको कारवाहीमा कयौं पटक बगदादी मारिएको समाचार आएका थियो ।