एपीएफ सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)
सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत समुह चरणको अन्तिम खेल जित्दै नेपाल एपीएफ क्लब सेमिफाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले हराएर समूह बी को विजेता बन्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । योसँगै सेमीफाइनल समीकरण पुरा भएको छ । यसै समूहबाट न्यु होराइजन बुटवल उपविजेता बनेर अन्तिम चारमा पुग्यो । त्यस्तै समुह ’ए’ बाट समूह विजेताको रुपमा कर्णाली–११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब अन्तिम चारमा प्रवेश गरेका हुन्।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा जारि प्रतियोगिताको सेमीफाइनल खेलहरु शुक्रबार संचालन हुनेछन्। पहिलो सेमीफाइनलमा कर्णाली र न्यु होराइजनले प्रतिस्पर्धा गर्ने छन् भने दोश्रो सेमीफाइनलमा एपीएफ र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार खेलिनेछ।

कालिन्चोक मैदानमा टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार गरेको थियो। टोलीका लागि सुमित महर्जनले सर्वा्धिक २६ रन र भुवन कार्कीले २० रनको योगदान दिए ।

महेन्द्रनगरका बलर सन्तोष भट्ट र आकाश चन्दले समान ३÷३ विकेट तथा बिक्रम ठगुन्नाले २ विकेट लिए । जवाफमा महेन्द्रनगर निर्धारित २० ओभरसम्म ब्याटिङ गरे पनि ८ विकेटको नोक्सानीमा १ सय २५ रनमै समेट्नु परेको थियो । एपीएफका बलरमा कमल सिंहऐरीले ३ तथा भुवन कार्कीले २ विकेट हात पारेका थिए । महेन्द्रनगरका सन्तोष भट्टको ५० रन पनि खेर गएको थियो । उनले विस्फोटक ब्याटिङ गर्ने क्रममा ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।