मनाङले अंक जोड्यो

0
Shares

काठमाडौं (नेस)
एएफसी कप अन्तर्गत समूह ‘ई’ को खेलमा नेपालको प्रतिनिधित्व गरेको मनाङ मर्स्याङदी क्लबले एक अंक जोडेको छ ।

बुधबार भारतमा भएको अवे खेलमा मिर्नभा पन्जाबसँग २–२ बराबरी खेल्दै प्रतियोगितामा पहिलो अंक जोडेको हो । यसअघि खेलिएका दुबै खेलमा मनाङ पराजित भएको थियो । नेपालको ए डिभिजन लिग च्याम्पियन मनाङले. भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो हाफमा १–० ले पछि पर्दा हारको खतरा भएको थियो । खेलको आठौं मिनेटमा श्रेयसको गोलमा मिनेर्भाले अग्रता लिएको थियो ।

खेलको ३४ औं मिनेटमा मनाङले खेल बराबरी गर्ने अवसर पनि पाएको थियो । पेनाल्टीमा मनाङका सुजल श्रेष्ठको प्रहार गोलरक्षक अर्श्दिप सिंहले बचाएपछि मिनेर्भाले अग्रता जोगाएको थियो । ६८ औं मिनेटमा मनाङले खेल बराबरीमा ल्यायो । कमल श्रेष्ठको लो क्रसमा अभिषेक रिजालले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट टर्नमा गरेको प्रहार गोल भएको थियो ।

८५ औं मिनेटमा मिनेर्भाका नुरेन करीमले पेनाल्टीमा गोल गर्दै टोलीलाई पुन अग्रतामा ल्याए । तर नियमित समयको अन्तिम मिनेटमा आडीलेजे सोमिडेले मनाङका लागि बराबरी गोल फर्काए । उनले कमल श्रेष्ठको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।

यस बराबरीसँगै मनाङले एएफसी कपको ३ खेलमा १ बराबरी र २ हारसँगै १ अंक जोडेको छ । समूहमा चेन्नाईयन ३ खेलमा ७ अंकसाथ शीर्ष स्थानमा छ भने बंगलादेसको अबहानी टोली ४ अंक जोड्दै दोस्रोमा छ । सबै तीन खेल बराबरी खेलेको मिनेर्भा तेस्रो स्थानमा छ ।