स्कूले बालिका कुखुरापालनबाट पढाई र घर खर्च जुटाउँदै


दुर्गाप्रसाद शर्मा, पर्वत ।
धेरै विद्यार्थीहरु बिहानै उठेर झोलाबाट किताब झिक्छन र पढ्न बस्छन । बाबु आमाले तयार गरेको खाएर पढेपछि उनीहरु बिद्यालय जान्छन र फर्केपछि खाजा खाएरै गृहकार्यमा लाग्छन ।

आम बिद्यार्थीहरुको दैनिकी भन्दा धेरै फरक दैनिकी छ पर्वतको बिहादी गाउँपालिका ४ वहाकीकी एलिना श्रेष्ठको । वहाकी माध्यामिक बिद्यालयमा ११ कक्षामा पढ्दै आएकी श्रेष्ठ बिहान उठेर कुखुरालाई दाना पानी दिएपछि हातमुख धोएर पढ्न बस्नुहुन्छ । बिहान खाना खानेबेला अघि कुखुराको खोरमा पुगेर रेखदेख गरेपछि झोला बोकेर स्कुल जानुहुन्छ ।

घरको आर्थिक अबस्था कम्जोर भएपछि आफैँ कुखुरापालन गरेर १६ बषिइा श्रेष्ठल पठनपाठन खर्च मात्रै होइन घरखर्च समेत चलाउँदै आउनुभएको छ । बिद्यार्थी श्रेष्ठले एक बर्षको अबधीमा ५३ वटा कोइलर जातको कुखुरा बिक्री गरेर ६० हजार कमाउन सफल हुनुभयो । ‘कुखुरा बिक्री गरेर बिद्यालयको पठनपाठन खर्च र बाबु आमालाई घर खर्च पनि चलाउन दिने गरेकी छु’ उहाँले भन्नुभयो ‘सबैले जस्तो पढाईमा मात्रै ध्यान दिन नपाएपनि ब्यबसाय र पढाईलाई निरन्तरता दिदा खुसी छु ।’

एलिनाका चार दिदीबहिनी र दुई दाजुभाई छन् । बाबुआमा कृषक हुन् । घरमा आम्दानीको कुनै स्रोत छैन । घरको आर्थिक अवस्था कमजोर भएका कारण दिदीहरुले सानैमा पढाई छोडे । अहिले कुखुराबाट नै आफू र भाइको लागि पढाइ खर्च जुटेको उहाँको भनाई छ । प्रतिकेजी ६ सयमा कुखुरा विक्रि हुने गरेको छ ।

स्थानिय जनप्रिय युवा महिला समुहकी सदस्य एलिना श्रेष्ठलाई घरपरिवारले पनि दिउँसोको समयमा काममा सहयोग गर्दै आएका छन । जनप्रिय महिला समुहमा आवद्ध भएपछि उहाँलाई प्लान इन्टरनेशनलको सहयोगमा इन्प्रेड नेपालले २० कुखुरा सहयोग गरेको थियो । सहयोग पाएका चल्लाबाट शुरु गरेको व्यवशाय अहिले आम्दानीको राम्रो माध्यम बनेको छ । ‘थोरै सहयोगबाट शुरु गरेपनि अब यसलाई नै मेरो र परिवारको ब्यबसाय बनाउँदै बिस्तार गदै आएकी छु’ उहाँले भन्नुभयो ‘अब स्थानिय र प्रदेश सरकारले सहयोग गरे अझै राम्रो गरेर देखाउने चाहना छ ।

सानै उमेरमा पढाइको साथसाथै कुखुरापालनमा लागेकी एलिनाले वडा कार्यालयले प्रोत्साहन स्वरुप उत्कृष्ट भन्दै ५ हजार नगद पनि दिएको छ । पढाई संगै कृषि तथा पशुपंक्षी पालनमा लागेका किशोरीहरुमा एलिनाले उत्कृष्ठ र नाफामुखी उत्पादन गर्न सकेको भन्दै वडाबाट प्रोत्साहन रकम दिएको छ ।

घरको आर्थिक अबस्था कम्जोर हुँदा पनि निरन्तर ब्यबसायबाट पढाई संगै घर खर्च समेत चलाउँदै आएकाले परिवारका सदस्य समेत खुसी छन । नातिनीले सानैमा कुखुरा पालेर राम्रो गरेको हजुरबुवा रामप्रसाद श्रेष्ठ बताउनुहुन्छ । ‘नातिनीले राम्रो मेसो गरेको देख्दा खुसी छु’ उहाँले भन्नुभयो ।