निःशुल्क स्वास्थ्य शिविरबाट साढे ६ सय लााभान्वित


प्रताप बानियाँ, म्याग्दी ।
‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ भन्ने मूल नारासहित सञ्चालित बृहत तथा निःशुल्क स्वास्थ्य शिविरबाट साढे ६ सयजना लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीका प्राविधिक सहयोगमा बुधबार बेनपा–९, घतानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बृहत तथा निःशुल्क स्वास्थ्य शिविरको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले उद्घाटन गरेकी थिइन् । शिविरमा घतान, पात्लेखेत र पुलाचौरका गरी कुल ६ सय ५१ जना बिरामीहरुले प्रत्यक्ष रुपमा सेवा लिएका छन् । यसमध्ये महिला ४ सय ४७ र पुरुष २ सय ४ जना रहेको आयोजकले जनाएको छ । शिविरको अवसरमा १ सय ९२ जनाको भिडियो एक्सरे गरिएकोमा महिला १ सय ६२ र पुरुष ३० जना रहेका छन् ।

यसैगरी ल्याबमा ९९ जनाको सुगर परीक्षण तथा ९६ जनाले दन्तसम्बन्धी सेवा लिएकोमा २५ जनाको दाँत उखेलिएको बेनी नगरपालिकाका स्वास्थ्य सहसंयोजक सोमनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार ७१ जना महिलाको पाठेघरको भिआइए जाँच (क्यान्सर रोगको परीक्षण) गरिएको छ । त्यस्तै तीन जनालाई बेनी अस्पतालमा सिफारिस गरिएको छ भने ३ जना महिलाको पाठेघरको मुखमा रिङप्रेसरी राखिएको उनले बताएका छन् ।

बेनी अस्पताल म्याग्दीका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीको नेतृत्वमा १० जना डाक्टर, स्वास्थ्यचौकी तथा बेनी अस्पतालका १७ स्वास्थ्यकर्मी र बेनपाका ४ जनासहित ३१ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीलाई उपचार सेवा उपलब्ध गराएको थियो । यसअघि बेनपाकै आयोजनामा सिङ्गास्थित डाँडाखेतमा बृहत तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भैसकेको छ ।

पछिल्लो समय सुगरका रोगीहरु बढ्दै गएको देखिएको हुँदा खानपिनमा ध्यान दिनुपर्ने, शारिरीक व्यायाम गर्नुपर्ने र नियमित रुपमा औषधी सेवन गरेको खण्डमा सुगर रोगलाई न्युनीकरण गर्न सकिने बेनी अस्पतालका डा. भूषण सुवेदीको भनाइ छ ।