सरकार राष्ट्रपतिको सुविधामा केन्द्रित भएको महतको आरोप


हेटौंडा ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतले कम्युनिष्ट सरकारले जनतालाई सपना बाँड्ने काममात्र गरिरहेको आरोप लगाउनुभएको छ ।
बुधबार नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले १ सय ३० आंै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने क्रममा महतले कम्युनिष्ट सरकारले जनतालाई विकासको नाममा अनेकथरि सपना देखाएर दिन कटाइरहेको बताउनुभएको हो ।

सरकारको गतिविधिप्रति आलोचना गर्दै महतले कम्युनिष्ट सरकारको प्रचारप्रसार बढी भएको र काम भने हुन नसकेको दाबी गर्नुभयो । जनताका आधारभुत आवश्यकता भन्दा पनि राष्ट्रपतिलाई के अपुग छ, के चाँही सुविधा पुगेको छैन भन्ने विषयमा सरकारलाई बढी चिन्ता परेको उहाँले उल्लेख गर्नुभयो ।

कुरामात्र ठूलो गरेर राज्यको विकास नहुने महतले बताउनुभयो । २०७२ सालमा जारी भएको संविधान हालसम्ममा सरकारले कार्यान्वयनमा ल्याउन नसकेको उहाँले आरोप लगाउनुभयो ।

प्रदेश–३ को बजेट १० प्रतिशतमात्र खर्च भएको सुन्दा आफू अचम्ममा परेको उहाँले बताउनुभयो । आर्थिक वर्ष सकिनै लाग्दा पनि प्रदेश सरकार कुरामा मात्र अड्केर बसेको महतले बताउनुभयो । कम्युनिष्ट सरकारको नयाँ युगको शुरुवात जनताको पसिना र कमाइ लुट्ने भएको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

कार्यक्रममा प्रदेश–३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मजदुरहरु राष्ट्रको पिल्लर भएको बताउनुभयो । उनीहरु बिना राष्ट्रविकास निर्माणको कार्य सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘मजदुरले ज्याला बढाउन आग्रह गर्दा उद्योग बन्द गर्ने तर उनीहरुको पारिश्रमिक नबढाउने कार्य भइरहेको छ । तर, सरकारले यस विषयमा चासो लिएको छैन,’ उहाँले भन्नुभयो । मजदुरका आवश्यकताअनुसार कम्तिमा उनीहरुको न्यूनतम् पारिश्रमिक २० हजार रुपियाँ हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो–नेपाली कांग्रेसका सुभेच्छुक संगठन होस्, भ्रातृ संगठन होस् वा पार्टी कार्यकर्ता हुन्, पार्टीलाई कमजोर बनाउने, नेतृत्वलाई कमजोर बनाउने र अन्य किसिमका अभिव्यक्ति दिएर बदनाम बनाउने कार्य गरियो भने मकवानपुरका पार्टी कार्यकर्ता, भ्रातृ संगठन, त्यसलाई साधारण सदस्यताबाट निकालिनेछ । ‘अनुशासन सबैले मान्नुपर्छ । अनुशासनबिना घर पनि चल्दैन र पार्टी पनि,’ उहाँले भन्नुभयो ।
युनियनले श्रमिक दिवसको सन्दर्भमा मंगलबार बुद्धचोकमा रक्तदान गरेको थियो । बुधबार दिवसको दिन फरेष्ट्री क्याम्पसअगाडि भेला भएर ¥यालीसहित पशुपति मन्दिर सभाहलमा पार्टी कार्यकर्ताको उपस्थिति थियो ।