दुर्घटनापछि सडकमा लडेका दुई जनालाई ट्रकले किच्दा घटनास्थलमै मृत्यु


धदिङ ।
गल्छी गाउँपालिका वडा न.ं ४ बेल्खु स्थित पृथ्वीराजमार्गमा बुधबार दिउँसो मोटरसाइकल र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि पछाडीबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनबाट काठमाण्डौतर्फ जादै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाईकल र काठमाण्डौबाट नवलपरासी तर्फ आउदै गरेको बा ४ ख ५१०३ नम्बरको माईक्रो बस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा न.ं ५ का २९ वर्षीय राज महर्जन र सोही नगरपालिका वडा न.ं १२ का ३० वर्षीय कवि कुमार महर्जन सडकमा लडे ।

सोही बेला चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रक ठक्कर दिँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिनुभयो ।

घटनापछि माइक्रोबस चालक र ट्रक चालकलाई प्रहरीले पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिएको छ भने राजमार्ग कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।