महेन्द्रनगरको ट्राफिक व्यवस्था यू–टर्न गराउने इन्सपेक्टर


उपत्यका बाहिरकै उत्कृष्ट व्यवस्थापन
मनोज भट्ट, महेन्द्रनगर ।
आज भन्दा झण्डै ८ महिना अगाडि उनि कञ्चनपुर सरुवा भएर आए । उनि सरुवा भएर यहाँ आएको बेला निर्मला बलात्कार र हत्या प्रकरणले महेन्द्रनगरको माहोल निकै अराजक भएको थियो ।

एकातर्फ निर्मलाको न्यायको निम्तिको आन्दोलनले महेन्द्रनगरमा सरुवा भएर आउने कर्मचारी समेत ससंकित थिए । यसै बखत जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख भएर उनि पनि महेन्द्रनगर आउँछन् । उनि भन्नाले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख भरत बहादुर शाह ।

तालिम केन्द्र सिन्धुलीबाट सरुवा भएर यहाँ आएपछि एक दिन उनि महेन्द्रनगर बजार क्षेत्रमा घुम्दै थिए । यसै बेला उनको आँखा महेन्द्रनगरको बसपार्क क्षेत्रमा जान्छ । जहाँ बसपार्क क्षेत्र ट्राफिक हिसाबले निकै अव्यवस्थित रहेको थियो । बसपार्क नभएको, तागा स्टेशनको उचित क्षेत्र नभएको, ‘नो पार्किङ्ग’ तथा ‘नो स्टोपङ्गी’ नभएको, सवारी रुट ‘क्वू’ अस्तव्यस्त र यातायात समिति र प्रा. लि. को विवादले महेन्द्रनगरको ट्राफिक अवस्था निकै फितलो देखिन्थ्यो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख भएर आएका शाहले सर्वप्रथम यी बिषयलाई उठाएर यिनको व्यवस्थापन गर्नु प्रमुख देखेँ र यस कार्यमा लागेँ । फलस्वरुप विस्तार विस्तारै उनले सफलता हासिल गर्दै लगे । उनले यस क्रममा महेन्द्रनगर बसपार्कलाई व्यवस्थित बनाउनेमा मात्र ध्यान दिएनन कि बरु बसपार्क बाहिरको अवस्थामा पनि उत्तिकै महत्वका साथ अगाडि बढे ।

प्रमुख शाहले अव्यवस्थित रहेका तागालाई व्यवस्थित गर्न विद्युक्त कार्यालय अगाडि एक निश्चित क्षेत्रमा मात्र पार्किङ्ग गराउनका लागि तागा स्टेशन निर्धारण गरे, जहाँ हाल तागा रोकिने गर्छन् । यस्तै बसपार्क बाहिरको क्षेत्रमा ‘नो पार्किङ्ग’ क्षेत्र घोषणा गरे । बसपार्क क्षेत्रमा यात्रुलाई दुःख दिने गरि गरिने तानातान हटाउन ‘पाँच मिनेट स्टप’ अर्थात पाँच मिनेटसम्म बसपार्क बाहिर साना सवारी साधनलाई पार्र्किङ्ग गर्ने व्यवस्था मिलाइयो साथै बसपार्कमा यात्रुलाई सचेत गर्न जनचेतनामूलक सामाग्रीे ‘माइकिङ्ग’ गर्ने गरियो ।

यस्तै बसपार्कमा यात्रुको सुविधाका लागि नागरिक सहायता कक्ष स्थापन गर्नमा उनले ठुलो भुमिका खेले । ‘महेन्द्रनगर बसपार्क एकदम व्यवस्थित बनेको छ, अहिले त बसपार्क महेन्द्रनगरको जस्तो बन्नपर्छ भनेर उदाहरण दिन थालिएको छ ।’ प्रमुख शाह भन्छन् ।

बसपार्क क्षेत्रमा यात्रुहरुलाई तानातान गरी दुःख दिने १५ जनालाई सार्वजनिक मुद्दा लगाइएको उनले बताए । बसपार्कपछि उनको ध्यान सवारी साधन अनुपति पत्र (लाईसेन्स) को ‘ट्राइल सेन्टर’ तिर तानिन्छ, जहाँ पारदर्शि हुदैन भन्ने जस्ता विभिन्न कुराहरु आउँछन् जसलाई कम गर्न तथा ‘ट्राइल’ लाई पारदर्शि र स्पष्ट बनाउनका लागि उनले त्यस क्षेत्रमा सिसिटिभी जडान गर्न काम गरे ।

यसरी आएको केहि समयभित्रै निकै राम्रो काम गर्दै गएका प्रमुख शाहको प्रशंसा बढ्दै गयो । ‘सुरु सुरुमा निर्मला बलात्कार तथा हत्या प्रकरणले गर्दा अराजक भएको यहाँको माहोलमा मलाई घुलमिल हुन गाह«ो थियो, विस्तार विस्तारै काम गर्दै गएँ ।’ उनले भने ।

यसरी उदाहरणका पात्र बन्दै गएका शाहले भीमदत्त नगरपालिकासंगको सहकार्यमा आफ्ना कार्य अगाडि बढाउदै लगे । उनले जिल्लाको ट्राफिक अवस्था सुधारका लागि भीमदत्त नगरपालिकामा कार्य योजना पेश गरी नगरपालिकाबाट प्राप्त एक लाख पचास हजार रुपियाँको माद्यक पदार्थ सेवन गरेको जाँच गर्ने एक मसिन खरिद गरे ।

जुन कञ्चनपुर जिल्ला तथा सुदूरपश्चिम प्रदेशका लागि नै नौलो थियो । यस प्रकारको मशिन यसअघि सुदूरपश्चिमको अन्य कुनै ठाउँमा नरहेको शाह दाबी गर्छन । उनि दाबी गरेर भन्छन्, ‘यो मशिन राजधानी बाहेक अन्य ठाउँ कतै छैन, यतै मात्र हो ।’ यस्तै नगरपालिकाबाट प्राप्त रकमले नै उनले बजार क्षेत्रमा ट्राफिक बत्ति जडान गरे ।

जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले नियमित सवारी साधन अनुगमन गर्ने तथा विद्यालयमा ट्राफिक सम्बन्धि प्रशिक्षण दिने गरेको प्रमुख शाह बताउँछन् ।

चालक र परिचालक पोशाकमा
महेन्द्रनगरबाट सञ्चालन हुने ठुला सवारी साधनका चालक तथा परिचालकहरुले तोकिएको पोशाक लगाउन सुरु गरेका छन् ।
महेन्द्रनगरबाट विभिन्न ठाउँका लागि जाने तथा यहाँ भित्रिने सम्पूर्ण बसका चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर सवारी साधन चलाउने गर्छन । यसरी पोशाक लगाएर सवारी साधन चलाउदा चालक जिम्मेवार हुने प्रमुख शाह बताउँछन् ।

चालकको आँखा जाँच
दुर्घटना न्यूनिकरणको लागि जिल्लामा सार्वजनिक सवारी साधन चालकहरुको आँखा जाँच गरेको छ । जिल्ला ट्राफिक प्रहरीले पुर्वपश्चिम महेन्द्र राजमार्गको विभिन्न तीन ठाउँमा सवारी साधन चलाउने चालकको निःशुल्क आँखा चेकजाँच साथै सवारी साधनको अवस्था पनि जाँच गरिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको भाँसी, दैजी र गुलरियामा चेकजाँच गरिएको प्रमुख शाहले बताए ।

दीर्घकालिन योजना
महेन्द्रनगर बजार क्षेत्रको ट्राफिक अवस्थालाई व्यवस्थित बनाउनका लागि प्रमुख शाहले एक योजना अघि सारेका छन् । बजारको बढि भिडभाड हुने गल्लि नम्बर १ र ५ मा मोटरसाइकलको पार्र्किङ्ग समस्यालाई समाधानका लागि नयाँ योजना अघि सारेका हुन ।

जुन बजारकै लागि नयाँ र व्यवस्थित हुने उनि दाबी गर्छन । जसको काम केहि समय भित्र सुरु हुने शाहको दाबी छ । यसका लागि सम्बन्धित निकायसंग छलफल गर्ने कार्य जारी रहेको उनले बताए ।